२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

ज्ञानेन्द्र शाहको अर्थपूर्ण भ्रमण

ADV
दिवाकर अधिकारी
२०८१ असोज २४ गते ०६:४०
ज्ञानेन्द्र शाहको अर्थपूर्ण भ्रमण

काठमाडौं : चार दिने भुटान भ्रमणबाट पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । ज्ञानेन्द्र शाहले दशैंको नवरात्रिमा देश नछोड्ने आफ्नै वंश परम्परा तोड्दै भुटान भ्रमण गरेका छन् । 

भुटानी राजा जिग्मे खेर नामग्यालका पिता जिग्मे सिंगे वाङ्चुकको निमन्त्रणामा छोरीहरु सहित थिम्पु पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्रलाई भुटानमा रेडकार्पेट बिछ्याएर विशेष सम्मान दिइएको थियो । तर गार्ड अफ अनर थिएन । यद्यपि राष्ट्र प्रमुखकै हैसियतमा ज्ञानेन्द्र शाहको सम्मान गरिएको भनी कतिपयले आलोचना गरिरहेका छन् । 

यद्यपि भुटानी राजासँग नेपालका पूर्वराजाहरुको विशेष सम्बन्ध देखिने गरेको छ । तैपनि अहिलेकै परिस्थितिमा भुटान भ्रमण हुनु र त्यहाँका राजासँग गरिएको भेटलाई चासोका साथ हेरिएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त ज्ञानेन्द्र शाहको भ्रमणले मात्र नभएर उनको प्रयत्नले समेत नेपालमा राजतन्त्र फर्कन नसक्ने सार्वजनिक टिप्पणी गरेका छन् । अरु नेताहरु पनि ज्ञानेन्द्र शाहको गतिविधिप्रति सचेत देखिन्छन् । 

यसअघि पनि गणतान्त्रिक पक्षधर नेताहरुले ज्ञानेन्द्र शाहको गतिविधिप्रति अर्को आक्रोश पोख्ने गरेका थिए । पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधवकुमार नेपालले नागार्जुनकै सुविधा खोसिन सक्ने समेत चेतावनी दिएका थिए । अरु नेताहरुले पनि ज्ञानेन्द्र शाहको गतिविधिमा अंकुश आवश्यक रहेको बताउने गरेका छन् । 

तर ज्ञानेन्द्र शाह भने आफ्नो गतिविधिमा अडिग देखिन्छन् । भुटान भ्रमणमा निस्कनु अघि बाढी पहिरो पीडितहरुको समवेदनामा राष्ट्र प्रमुखकै जस्तो भाषामा बक्तव्य जारी गरेका थिए । 

भुटानबाट फर्केपछि पनि राजाकै हैसियतमा दशैंको शुभकामना बक्तव्य निकालेका छन् । बुधबार राजाकै हैसियतमा बक्तव्य जारी गरेका हुन् । 

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विजया दशमी २०८१ को उपलब्धमा बक्सेको शुभकामना’ बक्तव्यमा लेखिएको छ । यस्तो बक्तव्य यसअघिका दशैंहरुमा पनि उनले निकाल्ने गरेका छन् । 

बक्तव्य निकाल्ने मात्र नभएर उनले राजनीतिक भाषा समेत प्रयोग गरेका छन् । ‘नेपालका बारेमा नेपालीहरु नै निर्णायक हुनु पर्दछ भन्ने हाम्रो सोचको अपरिहार्यता वर्तमानमा देखा परेको अन्यौल र अराजकताले झन् पुष्टि गरेको छ’, ज्ञानेन्द्रले लेखेका छन् । 

गत वर्ष त ज्ञानेन्द्र शाहले देशभर नागरिक अभिनन्दन सभा गर्दै हिँडेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise