काठमाडौं : पशुपति क्षेत्र विकासको स्वामित्वमा रहेको गौशाला धर्मशालामा असुरक्षा भएको छ । धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली बुधबार पनि त्यसै फर्किएको छ । यसअघि पनि काठमाडौं महानगर प्रहरीले गौशाला धर्मशाला खाली गराउन खोजेको थियो । विरोधले नसकेपछि त्यसै फर्किएको थियो ।
बुधबार धर्मशाला खाली गराउन दुई सय बढी नगर प्रहरी गएका थिए । उनीहरूको साथमा दुई वटा डोजर थिए । तर, मारवाडी सेवा समितिले विरोध गरेपछि प्रहरीले नगर प्रहरीलाई रोकेको थियो । शान्ति सुरक्षाको कारण देखाउँदै प्रहरीले नगर प्रहरीले लगेको डोजर नै नियन्त्रणमा लिएको थियो । पछि डोजर छाडिएको छ ।
विरोधका बाबजुद महानगरको साइनबोर्ड लगाएको छ । पशुपति क्षेत्र विकास कोषबाट गौशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकाले पाएपनि यसअघि सञ्चालन गर्दै आएको मारवाडी सेवा समितिले विरोध गर्दै आएका छन् । महानगर र समिति आमनेसामने भएपछि गौशालामा प्रहरीले सुरक्षा दिँदै आएको छ ।
काठमाडौँ महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार, पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको सम्झौताअनुसार धर्मशाला खाली गराउन नगर प्रहरीको टोली गएको थियो । तर, महानगर प्रहरी नपुग्दै नेपाल प्रहरीको टोली घेरा हालेर बसेको थियो । महानगर प्रहरीले अनधिकृत संरचना हटाउन खोज्दा प्रहरीले महानगरको दुई वटा डोजर नै नियन्त्रणमा लिएको थियो ।
यही असोज २२ गते पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभासचन्द्र जोशी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच महानगरपालिकाले संरचना सञ्चालन गर्ने गरी सम्झौता भएको थियो । त्यसको कार्यान्वयनका लागि महानगर प्रहरी जाँदा अवरोध हुँदै आएको छ ।
महानगरको टोली यसअघि पनि धर्मशाला खाली गराउन जाँदा माडवाडी सेवा समिति आबद्ध व्यक्तिहरू नगर प्रहरीबीच धकेलाधकेल भएको थियो । माडवाडी सेवा समितिले जबरजस्ती धर्मशाला खाली गराउन खोजिएको भन्दै विरोध गर्दै आएको छ ।
पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले २०८० साल साउन १७ गते मारवाडी सेवा समितिसँगको सम्झौता खारेज गरिदिएको थियो । तर, त्यसयता गौशालामा काठमाडौं महानगरका प्रहरी र माडवाडी सेवा समितिबीच विवाद भइरहेको छ ।
नेपाल प्रहरीले भने शान्ति सुरक्षाका लागि आफूहरू खटिएको दाबी गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार डोजर नियन्त्रणमा लिएर शान्ति सुरक्षा कायम गराउन खोजिएको हो ।