२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

नेपाली नागरिकता त्याग्ने बढे 

ADV
दिवाकर अधिकारी
२०८१ कार्तिक १ गते २२:४३
नेपाली नागरिकता त्याग्ने बढे 

काठमाडौं : निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साविकको नागरिकता त्यागको विवरण माग गरेको छ । गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयसँग माग गरेको हो ।

गृह मन्त्रालयका अनुसार गैरआवासीय नेपाली नागरिकता लिन साविकको नेपाली नागरिकता त्याग्नेहरू बढेका छन् । यो तथ्याङ्कले मतदाता संख्या समेत प्रभावित हुने अनुमान निर्वाचन आयोगको छ । 
आयोगको बिहीबार बसेको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि गैर–आवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साविकको नागरिकता त्यागको विवरण माग गरेको हो ।

गृह मन्त्रालयको तथ्यांक अनुसार तीन हजार बढीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । एक वर्षको अवधिमा एघार सय बढीले नेपाली नागरिकता त्यागेका छन् । 

गृह मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने संख्या २३७ मात्रै थियो । गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएपछि नेपाली नागरिकता त्याग गर्नेको संख्या बढेको हो ।

नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएको भए तापनि त्यस्तो व्यक्तिले गैरआवासीय नेपाली नागरिकता पाउँदैनन् । गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो । यो अवधिमा तीन हजार बढीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ ।

आयोगले उक्त व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा यही कातिक ५ गतेभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्नेको नाम मतदाता नामावलीबाट हटाइनेछ । यसपछि मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise