-धनराज गिरी-
अरुण, वरुण र करुण, तीन चेलाहरू आए घुम्न सौराहा । उनीहरू प्रोफेसर नाटकेश्वर आशुतोष महादेव पर्वतश्रीको चेलाहरू थिए । १८ वसन्तअघि प्रोफेसर विजय सामुदायिक शिक्षा सदनमा नायक थियो । सन्तोष थियो उसलाई किन कि चार सुमन उसका सहयोगी ।
नारायणीको तिरमा शारदामाताको अर्चना गरी कर्मयोगी बनेको थियो । मितवा प्रोफेसर जगमोहन आजादले गाइड गर्यो, प्रशासन चलाउन, उसले शासक होइन व्यवस्थापक बनेर प्रेममय वातावरणमा सरस्वतीको मन्दिर व्यवस्थापन गरेर सावित गरिदियो, ऊ भित्री गम्भीर हो, बाहिर चार्ली च्याप्लिन भए पनि । मीठुमाया पौडेललाई विशेष सहयोगी बनायो । कृष्णगोविन्द सापकोटाको साथ पायो ।
“गुरुदेव, नमन !” चेलाहरू ।
“वाउ, आऊ, आशीर्वाद !” मख्ख भयो प्रोफेसर, पूर्व प्राचार्य ।
बसे । गफ शुरु । उही कथा पूरानै ।
अरुण बोल्यो, “हजुर इन्दिरा छन्दमा कति राम्रो कविता लेख्नुहुन्छ, त्यो म ‘घनटाउके’ ! लेखेको सारै मनपर्छ ।”
“अरे बबुवा अरुण, मेरो अर्को मित्र अरुण छ, जापानमा, उसलाई पनि इन्दिरा छन्द मनपर्छ” प्रोफेसर ।
वरुण अघि आयो, बोल्यो, “गुरुदेव, त्यो फलानो मान्छे कति स्वार्थी रहेछ । हजुरको बारेमा पनि गतिलो कुरा गरेन । त्यो फलानो, हुर्मते !”
प्रोफेसर मुस्कुरायो, बोल्यो, “बबुवा, हामी सबै स्वार्थी । हामी काम, क्रोध, लोभ, मोह, ईष्र्या, जलन, अहंकारबाट दूर रहन सक्दैनौं ! सकेको अभिनय गर्छौं । साहित्यकारहरूको बिभिन्न नाताहरूको अभिनयजस्तै । यी सबै नकारात्मक गहनाहरू हुन् ।”
“हजुर पनि स्वार्थी ? कसरी मान्ने ?” करुण ।
“म त अझ बढी स्वार्थी, म त डिप्लोम्याट, अति चलाख रे ! रे रे ! भनियो । अब सुन, जायज, यो जायज विशेषण छ नि यो लगाएपछि सबै नकारात्मक कुराहरू स्वतः सकारात्मक हुने । जायज आलोचना चाहिन्छ । जायज लोभ पनि चाहिन्छ । जायज क्रोध पनि जायज हुन्छ । इमानदारीपूर्वक बेइमानी गर्न पाइन्छ । धरतीको हरेक मान्छे स्वार्थी ! बा–आमा त स्वार्थी हुने, देखेको छु । भोगेको छु । भित्री रूप, अक्सर, सबैको अनुरूप उही राम्रो म जडित छ सबैको मनमा, जमठ छ एउटा जडसूत्रवाद ! रीस राम्रो कुरा हो ?” प्रोफेसर रोकिए । “रीस त महाशत्रु हो सर, म त रिसाउन्न ।” अरुण बोल्यो ।
“होइन, रीस समयसापेक्ष हुन्छ, घटनासापेक्ष हुन्छ । जायज रीस ठीक छ । पान्चालीको चीरहरण हुँदा पाँच पतिदेव मुस्कुराउने ? विदुर नाच्ने ? आर्जव जनताहरूलाई धोका दिने नेतालाई दनक नदिने ? ऊसित नरिसाउने ? उसलाई पाउपोशाभिनन्दन नगर्ने ? आक्रोश पनि चाहिन्छ । तारीफ जायज, आलोचना जायज, जायज नै यस्तो जायज कुरा हो जसले हरेक कुरालाई जायज बनाइदिन्छ । हेर चेला हो मृत्यु पनि जायज हुन्छ”, प्रोफेसर बोले ।
“आम्मै, मृत्यु पनि कसरी जायज हुन्छ ?” वरुण बोल्यो ।
“अति दुःख पाएर विस्तारामा छटपटिनुभन्दा त... निदान यही हो, महायात्रा, ८० माथिको जीवनमा त्यस्तै रोगले गालेर परिवार नै हैरान हुने अवस्था हुन्छ भने ब्रह्मलीन हुनु जायज, न्याय नै न्याय । यो एक कठोर विवेकपूर्ण सोच हो । जायज हो वा होइन, निक्र्यौल हुनुपर्छ । जायज दुश्मन पनि जायज । सिनेमामा खलनायक चाहिन्छ । गब्बरले गर्दा हो शोले ! चम्किएको । जायज अन्धकार चाहिन्छ । मस्त निदाउन पाइन्छ”, प्रोफेसर बोले ।
“गुरुको जायजपुराण जायज छ । चित्त बुझ्यो”, अरुण बोल्यो ।
चेलाहरू किताब ‘सम्मोहन’ लिएर फर्किए । प्रोफेसर ‘जायज आलोचनामाथि’ निबन्ध लेख्न थाल्यो ।