२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

साफ महिला च्याम्पियनसिप : माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल

ADV
मध्यान्ह
२०८१ कार्तिक ५ गते १९:४५
साफ महिला च्याम्पियनसिप : माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल

काठमाडौं : नेपालले साफ महिला च्याम्पियनसिप २०२४ मा माल्दिभ्सविरुद्ध फराकिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सोमबार भएको खेलमा नेपालले ११–० को जित हासिल गरेको हो ।

नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरिन् ।

नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि सन् २०१६ मा पनि ९–० माल्दिभ्सलाई पराजित गरेको थियो । 

जितसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । नेपालको चार अंक छ । भुटानको पनि समान चार अंक छ । भुटानले माल्दिभ्स र नेपालले श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्ने छ । यही खेलबाट समूह विजेताको टुंगो लाग्ने छ ।

सोमबार खेलको सातौं मिनेटमा प्रिती राईको गोलबाट नेपालले अग्रता लिएको थियो । सविताले २९औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । रेखा पौडेलले ३२औं र ४२औं मिनेटमा गोल गरिन् । ४८औं मिनेटमा रेखा पौडेलले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । रेखा ह्याट्रिक पछि पनि रोकिएनन् र ६३ औं र ७८ औं मिनेटमा गोल थपिन् ।

६५औं मिनेटमा प्रीति राईले व्यक्तिगत दोस्रो गोल गरिन् । प्रीतिले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अनिता केसीले ६८औं र अमिशा कार्कीले ८८औं मिनेटमा गोल गरिन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise