२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

लुम्बिनी लायन्सको नयाँ क्रिकेट प्रतिभा खोज अभियान

ADV
मध्यान्ह
२०८१ कार्तिक ६ गते १६:४१
लुम्बिनी लायन्सको नयाँ क्रिकेट प्रतिभा खोज अभियान

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरहरूका लागि सनौलो अवसर ल्याएको छ । घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप लुम्बिनी लायन्सले आगामी एनपीएलका लागि आफ्नो टोलीमा ४ उदीयमान खेलाडीहरूलाई सामेल गराउन लागेको हो ।

यसरी छनोट भएका ४ खेलाडीहरूमध्ये एक जनाले ‘सुपरस्टार’को उपाधि प्राप्त गर्नेछन् । जसले नेपाल प्रिमियर लिगका अरु खेलाडीहरुसँग खेल्न पाउनुका साथै नगद पुरस्कार एक लाख रुपैयाँ पनि प्राप्त गर्नेछन् । त्यसैगरी बाँकी ३ खेलाडीहरूले ‘स्टार’को उपाधि प्राप्त गर्नेछन् जसले लायन्स क्लबको विशेष प्रशिक्षणहरुमा सहभागी हुने अमूल्य अनुभव प्राप्त गर्नेछन् ।

विज्ञ प्रशिक्षकहरूको मार्गदर्शन र निरीक्षणमा युवा क्रिकेटरहरुको सीप निखार्दै उनीहरुलाई प्रोफेशनल क्रिकेट क्लबको हिस्सा बन्ने अवसर प्रदान गर्न यस ट्यालेन्ट हन्टको शुरुवात गरिएको क्लबले जानकारी दिएको छ । यस अवसरले युवा खेलाडीहरूलाई अनुभवी क्रिकेट खेलाडी र प्रशिक्षकहरूसँगै प्रशिक्षण र अभ्यास गर्ने अवसर प्रदान गर्दै भविष्यमा उत्कृष्ट क्रिकेटर बन्न तयार बनाउने विश्वास क्लबले लिएको छ ।

यस अवसरबारे बोल्दै लुम्बिनी लायन्सका मालिक इश्वर जिसीले भने, 'यो अभियानअन्तर्गत हामीले लुम्बिनी प्रदेशका विभिन्न कुनाबाट क्रिकेटका उदीयमान तारा खोज्न कोसिस गरिरहेका छौं । यसरी छनोट भएका लुम्बिनीका ताराहरुलाई एनपीएलमा समावेश हुने अवसर प्रदान गरिनेछ भने अन्य ३ स्टारहरूलाई पनि टिमसँगै धेरै कुरा सिक्ने मौका मिल्नेछ ।'

उनले थप भने, 'लुम्बिनी प्रदेशको माटोले पहिलो वर्ष नै राम्रो सफलता हासिल गर्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं । लुम्बिनी लायन्सलाई माया गर्नुहुने सम्पूर्ण लुम्बिनीवासी तथा देश–विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं । लुम्बिनी लायन्सलाई यसैगरी सधैंभरि माया गरिरहन पनि अनुरोध गर्दछौं ।'

यस अवसरको फाइदा लिन चाहने इच्छुक युवा क्रिकेटरहरूले निश्चित आवेदन प्रक्रिया भने पूरा गर्नुपर्ने क्लबले जनाएको छ । लुम्बिनी लायन्सको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिएको ट्यालेन्ट हन्टको पोस्टमा रहेको रजिस्ट्रेसन लिंक https://forms.gle/JN4UhEvwBwRGqPUu9 मा क्लिक गरेर आवेदन प्रक्रियाको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।

क्लबको कोचिङ प्यानलले सबै सहभागीहरूले पठाएका भिडियोहरूको मूल्यांकन गरेपछि छनोट प्रक्रिया शुरु हुनेछ, जसको आधारमा खेलाडीहरूको सीपको स्तरको आंकलन गरिनेछ । यस मूल्यांकनको आधारमा छनोट गरिएका खेलाडीहरूको सूचि तयार गरी उनीहरूलाई व्यक्तिगत रूपमा ट्रायलमा सहभागी हुने अवसर प्रदान गरिनेछ ।

यो अवसरको लागि कात्तिक १८ गतेभित्र आवेदन बुझाउनुपर्नेछ । सर्टलिस्टमा परेका आवेदकहरूको नाम कात्तिक २० गते घोषणा गरिने र ट्रायलको मिति र स्थान पनि तोकिने क्लबले जानकारी दिएको छ । 
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise