काठमाडौं : काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समूह ‘ए’बाट विजेताको हैसियतमा सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
यो समूहबाट भारत उप विजेताको हैसियतमा सेमिफाइनलमा पुग्दा पाकिस्तान भने बाहिरिएको छ । बंगलादेशको चार अंक भएको छ भने भारतको तीन अंक रहेको छ । पाकिस्तान भने एक अंकसहित प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
खेलको १९औं मिनेटमा अफेइदा खान्डाकेरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि तोहुरा खातुनले २९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारिन् । तोहुराले नै ४२औं मिनेटमा गोल गरेपछि बंगलादेशले पहिलो हाफमै ३–० को अग्रता लियो । त्यसको अर्को मिनेटमै भारतका लागि बालादेवीले गोल गर्दै गोल अन्तर घटाइन् । दोस्रो हाफमा पनि भारतले गोल फर्काउने प्रयास गरेको थियो । तर सफल हुन सकेन । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।
च्याम्पियनसिप अन्तर्गत बिहीबार समूह चरणका अन्तिम दुई खेल हुनेछ । समूह बी अन्तर्गत भुटान र माल्दिभ्सबीच दिउँसो साढे १ बजे खेल शुरु हुनेछ भने घरेलु टोली नेपालले साढे ५ बजे हुने खेलमा श्रीलंकासँग खेल्नेछ ।