२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

भारतलाई हराउँदै नेपाल फाइनलमा

ADV
मध्यान्ह
२०८१ कार्तिक ११ गते २१:५८
भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं : भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी भएको थियो । पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो ।

विवादले दुई पटकसम्म रोकिएको खेल एक-एक बराबरीमा खेल सकिएको थियो । शुरुवातमा रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकियो । त्यसपछि शुरु भएको खेलको केही समयमै भारतले गोल गर्दै १-० को अग्रता लियो । संगीता बास्फोरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

नेपालले लगत्तै भारतले गोलको खुसी मनाइरहेको अवस्थामा किकअफमा गोल गर्‍यो, तर रेफ्रीले आफैं ह्विसल बजाएर खेल शुरुवात गरेपनि पछि गोललाई मान्यता दिइनन् । त्यसपछि विवाद हुँदा खेल झण्डै १ घण्टा रोकियो ।

खेल सुचारु भएको केहीबेरमा नेपालले गोल फर्कायो । सावित्रा भण्डारी 'साम्बा'ले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल बराबरी हुँदै टाइब्रेकरमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा नेपालका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गोलकिपर अन्जना राना मगरले उत्कृष्ट प्रर्दशन गरेपछि नेपालको जित सहज बनेको हो । पेनाल्टी सुटआउटमा भारतको पहिलो प्रहार नै कप्तान आशालता देवीले पोस्टमा प्रहार गर्दा भारत शुरुमै पछि पर्‍यो । त्यसपछि साम्बाले नेपालको पहिलो पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रतामा दिलाइन् । भारतकी मनिषाले दोस्रो प्रहारमा गोल गरिन् । नेपालकी गीता रानाले गोल गर्दै २-१ को अग्रता दिलाइन् । त्यसपछि पुरुषोत्तम शिरोभ्करले गोल गर्दै खेल २-२ मा ल्याइन् ।

सविताले तेस्रो प्रहारमा गोल गर्दै खेलमा नेपाललाई अग्रता दिलाइन् । भारतको चौथो प्रहार गरेकी रन्जना चानुको पेनाल्टीलाई अन्जनाले उत्कृष्ट बचाउ गरिन् । त्यसपछि अमिषा कार्कीले गोल गर्दै नेपाललाई जित दिलाइन् ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई ७-१ गोल अन्तरको फराकिलो जित निकाल्दै बंगलादेश फाइनलमा प्रवेश गरेको थियो ।

बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम नाममा रह्यो । भुटानकी डेकी लाजोमले एक गोल फर्काइन् ।

बंगलादेशले खेलको सातौं मिनेटमै ऋतुको गोलमार्फत अग्रता बनाएको थियो । त्यसपछि पनि लगातार गोल गर्दै भुटानमाथि बंगलादेशलाई दबाबमा राख्दै गोल गर्‍यो ।

४१औं मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले एक गोल फर्काएकी थिइन् । दोस्रो हाफको ५८औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन् । भुटानले केही सकारात्मक मुभ बनाए पनि काउन्टरमा बंगलादेशले गोल गर्दै ६–१ को अग्रता लियो । ७२औं मिनेटमा बंगलादेशले सातौं गोल थपेको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise