काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विषयले संसदीय समितिमा प्रवेश पाएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदिहरूले यो विषयलाई प्रवेश गराएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले रास्वपा सभापति लामिछाने पक्राउको विषय प्रवेश गराएका हुन् । विषय प्रवेश गरउँदै सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले एकअर्काप्रति घोचपेच गरेका हुन् ।
रास्वपाी सांसद डा. चन्दा कार्की भण्डारीले आफ्नो पार्टी सभापति लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न माग गरिन् । गृहमन्त्री रमेश लेखकसमक्ष उनले रविले प्रमाण नष्ट नगर्ने तथा विदेश पनि नभाग्ने दाबी गर्दै यस्तो आग्रह गरेकी हुन् ।
साथै उनले रास्वपा संसदको चौथो दलको सदस्य भएको पनि स्मरण गराइन । ‘१२ लाख नेपालीले पत्याएको दलका शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य हो’ भनले भनिन् ।
रवि लामिछानेको मुद्दा अदालतमा नपुगेको उल्लेख गर्दै प्रहरी हिरासतमा रहँदा पक्राउको विरोधमा प्रदर्शन हुनु पनि सामान्य रहेको बताए । कतिपयले रास्वपाले न्यायलय प्रभावित गर्ने पर्यास गरेको आरोप लगाउने गरेका छन् । तर, आफूहरुले आन्दोलन गलत मनसायले नगरेको उनले बताइन ।
त्यसपछि रास्वपा सांसद कार्कीप्रति अन्य सत्तापक्षका सांसदले घोचपेच गरे । नेपाली कांग्रेस सांसद सरिता प्रसाईंले संसदीय छानबिन समितिले प्रतिवेदन बनाएपछि सरकारले त्यसको कार्यान्वयन गरेको बताइन् ।
उनले भनेकी छन्, ‘उहाँलाई भ्रष्टाचारी पनि भनेको छैन । योभन्दा अघि धेरै मान्छेहरूलाई मुद्दा लागे, जेल गए । कसैले आन्दोलन–जुलुस गरेन । मुख छाडेर हिँडेको सुनेको छैन । कानुनभन्दा माथि कोही छैन भनेर कानुनलाई पर्खनु पर्छ ।’
सत्तारुढ नेकपा एमाले सांसद रघुजी पन्तले पनि कार्कीको भनाइप्रति आपत्ति जनाए । १२ ला भोट ल्याएको भनेर अनुसन्धान नै हुन नहुने माग उचित नरहेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका व्यक्तिहरूमा पूर्वगृहमन्त्रीहरू उल्लेख्य रहेको टिप्पणी गरे । रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई जवाफ दिने क्रममा पन्तले पूर्वगृहमन्त्री खुमबहादुर खड्का, गोविन्दराज जोशीलगायतको नाम लिँदै चुनावमा धेरै मत ल्याउँदैमा उसले भ्रष्टाचार गर्दैन भन्न नसकिने बताए ।
सांसदहरूका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले कुनै पनि आपराधिक कार्यको अनुसन्धान मानिसको मुख हेरेर नभइ तथ्य र प्रमाणका आधारमा हुने बताए ।
रास्वपा सभापति रवि लामिछाने सहितका मुद्दा लक्षित विषयमा उठेको प्रश्नका सन्दर्भमा उनले यस्तो जवाफ दिएका हुन् ।
रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । लामिछाने यही कातिक २ गते पक्राउ परेका थिए ।
कास्की जिल्ला अदालतको आदेशमा कास्की प्रहरीले उनीसहित १४ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी गरेको थियो । त्यसआधारमा काठमाडौंको चमतीस्थित पार्टी कार्यालय परिसरबाटै लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसिन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो ।
कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका थिए । रवि लामिछानेविरुठ ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान चलिरहेको छ ।
संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा राख्न पाउने ६० दिनको हदम्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनको हदम्याद रहन्छ ।