काठमाडौं : साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा)ले नै बिक्री गर्ने भएको छ ।
नेपाल र बंगलादेशबीच हुने फाइनलका लागि बुधबार बिहान ८ बजेदेखि जावलाखेल फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकालीको नेपाली सेनाको गेटअघिबाट टिकट बिक्री गर्ने एन्फाले जनाएको छ ।
एन्फाले अनलाइन टिकट भने किन्न नपाइने बताएको छ । ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने एन्फाको भनाइ छ ।
प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमताको छ । यसअघि अनलाइन टिकट खरिद गरेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।
एन्फाले टिकटमा पनि सीमितता तोकेको छ । जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन् । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ ।
यसअघि टिकट बिक्रीको जिम्मा लिएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.ले भारतसँगको खेलका क्रममा रंगशालाको क्षमताभन्दा धेरै टिकट बिक्री गरेकाले सुरक्षा जोखिम बढेको भन्दै एन्फाले सम्झौता रद्द गरेको छ ।
माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो । १५ हजार जना दर्शक क्षमता भए पनि उसले १८ हजार वटा टिकट बेचेको थियो ।
साफ महिला च्याम्पियनसिपकाे फाइनल खेल बुधबार बेलुका साढे ६ बजेदेखि शुरु हुने छ ।