२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

'जन्मदिनलाई सत्कर्मसँग जोडौं' अभियान : पशुपतिको मृगस्थलीमा बृहत् वृक्षारोपण

ADV
लेखनाथ सिकारु
२०८१ असार ३ गते १७:२५
'जन्मदिनलाई सत्कर्मसँग जोडौं' अभियान : पशुपतिको मृगस्थलीमा बृहत् वृक्षारोपण

काठमाण्डौं : पशुपतिनाथ मन्दिर परिषर मृगस्थलीमा बृहत् वृक्षारोपण गरिएको छ । धार्मिक एवम् पर्यटकीय स्थल पशुपतिनाथ मन्दिरको मृगस्थली श्लेषमानतक वनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालको प्रमुख आथित्यतामा वृक्षारोपण कार्यक्रम भएको हो ।

कार्यक्रममा सचिव दंगालले नेपालकै नयाँ र पहिलो अभियानमा सामेल हुने अवसर पाएकोमा खुसी व्यक्त गरे । उनले जन्मदिनलाई भड्किलो नबनाइ विदेशी रीतिरिवाजलाई भित्रिन नदिन विश्वभर नै यो अभियान पुर्‍याउनुपर्ने आवश्यकता रहेको धारणा राखे । 'यो सकारात्मक सोच समाजमा रहेका विभिन्न वर्ग तथा समुदायका व्यक्तिमा पुर्‍याउनुपर्ने छ’, उनले भने, ‘सबै नेपालीको जन्मदिनमा एउटा बिरुवा रोप्यो भने मात्र पनि वातावरण स्वच्छ हुने छ । यो अभियान विश्वसामु फैलिनुपर्छ ।’ समाजका अगुवाहरूले र सबैले आ–आफ्नो तर्फबाट जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा रौतहटबाट शुरुवात गरिएको ‘जन्मदिनलाई सत्कर्मसँग जोडौं’ अभियानअन्तर्गत सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर रुद्राक्ष, पिपल, चन्दनलगायतका बिरुवा रोपण गरिएको अभियानका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले बताए । उनले अभियानलाई विश्वभर फैलाउन हरेक संघसंस्थाका कर्मचारी, कलाकार, पत्रकार तथा समाजका अगुवा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।

वृक्षारोपण अभियानमा उपस्थित वरिष्ठ मुटुरोग विषेशज्ञ डा. भगवान कोइरालाले काठमाडौंमा मात्र नभइ यो अभियान देशभर नै केही हदसम्म फैलिएको र अझै पनि सरोकारवाला सबै लागिपर्नुपर्ने तथा आफ्नो जन्मदिनलाई भव्यरुपमा सत्कर्म गरी मनाउन आवश्यक रहेको बताए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक रवीन्द्र बोहोरा, नेपाल सरकारका सहसचिव चुडाराज ढकाल, बैंकर्सका प्रतिनिधि यज्ञप्रकाश न्यौपाने, राष्ट्रिय उपभोक्ता हित संघीय नेपालका अध्यक्ष प्रेमलाल महर्जन, पूर्वमिस नेपाल सुगारिका केसी, विश्व हिन्दु महासंघकी अध्यक्ष अस्मिता भण्डारीलगायतले यो अभियानमा उपस्थित भएर बिरुवा रोपण गर्न पाउँदा खुसी लागेको बताए ।

प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापाले यस अभियानले समाजमा सहयोगी भावना उत्पन्न गराउने बताए । साथै, नेपाल प्रहरीको तर्फबाट पनि सो अभियानमा एक्यबद्धता जनाएर आफ्नो संगठनमा रहेका प्रहरीहरुको जन्मदिनमा वृक्षरोपण गरी सत्कर्ममा जोड्ने पनि उनले प्रतिबद्धता जनाए ।

यस्तै कार्यक्रममा अभिनेत्री तथा निर्मात्री पूजा शर्माले यो अभियानले जन्मदिन तथा अन्य शुभकार्यमा पनि समाजिक सद्भाव कायम राख्ने बताइन् । उनले भनिन्, ‘यो अभियानमा जोडिन पाउँदा ज्यादै खुसी छु । मैले अन्य कार्यक्रममार्फत वृक्षारोपण गरेपनि यो अभियानसँग जोडिएर पहिलो पटक वृक्ष रोपें । अब म आफ्ना हरेक जन्मदिन वृक्षारोपणलगायत अन्य सत्कर्म गरी मनाउँछु र यही प्रेरणा बाँड्न चाहन्छु ।’

अभिनेत्री रजनी केसी, मोडल तथा अभिनेता कुन्साङ बम्जन, चलचित्र पत्रकार, निर्देशक तथा निर्माता लक्ष्मण सुवेदीलगायतले पनि आ–आफ्नो तर्फबाट कलाको क्षेत्रबाट यो अभियानलाई थप सार्थक बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा धर्मेन्द्र झा, सन्जिब झा, सिद्धान्त झा, श्याम सापकोटा, भिमप्रसाद सापकोटा र सुमन धिताल चौलागाईंले जन्मदिनको उपलक्ष्यमा वृक्षारोपण गरेका थिए भने कार्यक्रममा उपस्थित झण्डै डेढ सय जनाले जन्मदिन परेकाहरुलाई साथ दिँदै आफ्नो जन्मदिन सम्झिएर वृक्षारोपण गरेका थिए ।

पछिल्लो समय यो अभियानले राष्ट्रिय अभियानको रुप लिएसँगै विभिन्न क्षेत्रहरुबाट पनि यो अभियानमा एक्यबद्धता जनाउने व्यक्तिहरुको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । असार ६ गते तार्केश्वर नगरपालिकामा पनि बृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष चौलागाईंले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise