अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थानमा भएको प्रथम मेयर कप पुरुष भलिबलको उपाधि वडा नम्बर ५, असुरकोटले जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा वडा नम्बर २, ढाकावाङ्गलाई २–० को सोझो सेटमा पराजित गर्दै असुरकोटले उपाधि चुमेको हो ।
च्याम्पियन ट्रफीसँगै असुरकोटले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । दोस्रो हुने ढाकावाङ्गले ४० हजार नगद र ट्रफी पाएको छ । असुरकोटले २५–२१ र २५–२० को सेटमा जित निकालेको हो । त्यस्तै भूमिकास्थानको वडा नम्बर १०, धनचौरले तेस्रो स्थान हात पार्यो ।
भूमिकास्थान–१,ढाकावाङ्गलाई २–० कै सोझो सेटमा पराजित गर्दै धनचौरले ३० हजार नगद र ट्रफी उचाल्यो । भूमिकास्थान नगरपालिकाको आयोजनामा संचालन गरिएको प्रतियोगितामा उक्त नगरपालिकाका १० वटै वडाबाट गरि १० टिम सहभागी थिए ।
नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, पूर्व नगरप्रमुख रेसम थापा र निमित्त प्रमुख प्रशासकिय अधिकृत तुवलाल सापकोटा लगायतले प्रतियोगिताका विजेतालाई पुरस्कार एवम् रेफ्री तथा अन्य सहयोगीहरुलाई कार्यक्रम सफल पार्न उत्कृष्ट भूमिका खेलेको भन्दै प्रशंसापत्र प्रदान गरेका थिए ।
भूमिकास्थानका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनको सञ्चालनमा सम्पन्न भएको प्रतियोगिकोता समापन समारोहमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा अन्य खेलप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।