२०८१ कार्तिक २१ गते बुधवार / Nov 06 , 2024 , Wednesday
२०८१ कार्तिक २१ गते बुधवार

अभिव्यक्तिको अर्थ

ADV
२०८१ कार्तिक १५ गते ०६:२५
अभिव्यक्तिको अर्थ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले सार्वजनिक प्रतिक्रियाका क्रममा प्रयोग गरेको अपशब्द अहिले सामाजिक सञ्जालमा भाइरल छ । आफ्ना पार्टीका नेता–कार्यकर्ता पक्राउ परेपछि सांसद श्रेष्ठले गणतन्त्रसँगै जोडेर अपशब्द प्रयोग गरेका थिए । पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध प्रदर्शन गरिरहेको रास्वपाले १३ कात्तिकमा बालुवाटार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो । तर प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पक्राउ गर¥यो । पक्राउ गरिने क्रममा सांसद समेत धरपकडमा परेपछि रास्वपाका सांसद श्रेष्ठले गणतन्त्रसँग जोडेर अपशब्द प्रयोग गरेका थिए । सार्वजनिक रुपमा प्रयोग गर्न नसकिने शब्द बोलिनुलाई रास्वपाका नेताहरुले तत्कालीन परिस्थितिको उपज भनेका छन् । त्यस्तो शब्द प्रयोगमा रास्वपाकै नेताहरु सहमत छैनन्, तर राज्यले बल प्रयोगको नीति लिएकाले आवेगमा त्यस्तो शब्द प्रयोग हुन पुगेको रास्वपाका नेताहरुको प्रष्टोक्ति छ । यद्यपि रास्वपाले यसबारे कुनै धारणा सार्वजनिक गरेको छैन । धेरैको अपेक्षा चाहिँ स्वयं सांसद श्रेष्ठ वा रास्वपाले यसप्रति धारणा सार्वजनिक गरुन् भन्ने देखिन्छ । 

यस्तो अपेक्षा हुनुको पछाडि सांसद श्रेष्ठ रास्वपा संसदीय दलको उपनेता हुनु र रास्वपा आफै मुलुकको चौथो ठूलो दल हुनु हो । एउटा राष्ट्रिय शक्तिसँग समाजलाई गतिशील र अनुशासित बनाउने दायित्व पनि राष्ट्रिय नै हुन्छ । भलै अहिले रास्वपाको प्रदर्शनप्रति मतैक्य देखिदैन । सहकारी बचत रकम अपचलन मुद्दामा दोषी रहेको संसदीय समितिको प्रतिवेदनका आधारमा अनुसन्धानका निम्ति पक्राउ परेका रविको रक्षामा सिंगो पार्टी परिचालित छ । प्रहरीलाई अनुसन्धानमा सहयोग गर्नुपर्नेमा उल्टै राजनीतिक प्रतिशोधको निष्कर्ष सहित रास्वपाले लगातार प्रदर्शनको नीति लिएको छ । गत २ कात्तिकमा पक्राउ परेर रविलाई पोखरा लगिएपछि रास्वपाको प्रदर्शनमा पनि त्यही केन्द्रीत थियो । तर रविलाई थुनामा राख्ने म्याद थपिदै जाँदा प्रदर्शन पोखरामा नभएर काठमाडौंमा हुन थाल्यो । अर्थात् आफ्नो सभापतिलाई आफै निर्दोष सावित गर्ने कच्चा राजनीति गरिरहेको रास्वपाका सांसदले अपशब्द प्रयोग गर्नुलाई धेरै ठूलो आश्चार्य नमान्न पनि सकिन्छ । 

तर कुनै प्रणाली अथवा संस्थाप्रति अपशब्द प्रयोग गर्दा त्यसले पार्ने असरबारे पनि ध्यान दिनुपर्छ । सुझबुझ बिना गलत शब्द प्रयोगबाट पुगेको असर बुझ्न रवि लामिछाने आफै उदाहरण हुन् । मिडियामा हुँदा उनको गतिविधिलाई लिएर इटहरी उपमहानगर पालिकाका मेयरले पत्रकारलाई गलत उपमा दिए । अहिले मिडियासँग असहमति राख्ने जोकोही सर्वसाधरणले त्यही शब्दले पत्रकारलाई गाली गर्छन् । मिडियाको जागिर छोडेर रवि फेरि राजनीतितिर लागे । राजनीतिमा हुँदा आमसञ्चार माध्यमलाई ‘१२ भाइ’ को उपमा दिए । त्यो शब्द अहिले स्वयं रवि, मिडिया र सिंगो समाजकै निम्ति समस्या बनिरहेको छ । तसर्थ सार्वजनिक रुपमा प्रयोग गरिने शब्दको अर्थ हुन्छ । त्यसैले जिम्मेवार व्यक्तिहरुले राज्यका संस्था र सम्बन्धबारे बोल्दा थोरै विचार पु¥याउन आवश्यक छ । पुराना दलहरुको विकल्प भनेर आफूलाई चिनाएको रास्वपाका नेताहरुसँग अझ बढी दायित्व हुनुपर्ने हो । किनकि पुरानाहरुले नगरेको काम गर्ने उनीहरुको प्रतिबद्धता छ । त्यसैले सांसद श्रेष्ठले प्रयोग गरेको अपशब्द सच्चिन जरुरी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise