२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

बाँफिकोटलाई हराउँदै सानीभेरीले जित्यो त्रिपुरासुन्दरी मेयर कपको उपाधि

ADV
पुर्ण कुमार
२०८१ कार्तिक १५ गते १६:३०
बाँफिकोटलाई हराउँदै सानीभेरीले जित्यो त्रिपुरासुन्दरी मेयर कपको उपाधि

डोल्पा : हिमाली जिल्ला डोल्पामा जारी सर्वाधिक राशिको चौथो मेयर कप पालिकास्तरीय पुरुष खुला भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको भलिबल टिमले जितेको छ । 

बिहीबार भएको फाइनल खेलमा बाँफिकोट गाउँपालिकाको भलिबल टिमलाई ३-१ ले पछि पार्दै सानीभेरीले उपाधि हात पार्न सफल भएको हो। 

बुधबार भएको सेमिफाइनल खेलमा सानीभेरीको भलिबल टिमले यार्सा स्पोर्ट्स क्लब माझफाललाई सोझो सेटमा हराउँदै फाइनल पुगेको थियो । बाँफिकोट गाउँपालिकाको टिम त्रिपुरासुन्दरी ५, ६ को संयुक्त भलिबल टिमलाई हराउँदै फाइनल पुगेको थियो । 

उपाधि हात पारेसँगै सानीभेरी गाउँपालिकाको भलिबल टिम प्रथम हुँदै नगद रु. तीन लाख, मेडलसहित प्रमाणपत्र प्राप्त गरेको छ । 

त्यस्तै फाइनलमा सानीभेरीसंँगको हारसँगै बाँफिकोट गाउँपालिकाको भलिबल टिम द्वितीय हुँदै दुई लाख नगद, मेडलसहित प्रमाणपत्र प्राप्त गरेको छ। 

सानीभेरीको भलिबल टिमलाई सायरा आयल स्टोर्सले प्रायोजन गरेको हो भने बाँफिकोटको भलिबल टिमलाई कंकासुर भूमि कन्ट्रक्सनले प्रायोजन गरेको हो । 

त्यस्तै तेश्रो स्थान हात पार्न सफल  यार्सा स्पोर्ट्स क्लब माझफालले नगद रु.एकलाख, मेडल सहित प्रमाण पत्र प्राप्त गरेको छ। चौथो हुने त्रिपुरासुन्दरी ५,६ को संयुक्त भलिबल टिम सान्त्वना हुँदै २० हजार नगद प्राप्त गरेको छ । 

प्रतियोगितामा उदयमान स्पाइकरको उपाधि त्रिपुरासुन्दरी-२ का दिल बहादुर सुनारले प्राप्त गरेका छन्। 

त्यस्तै प्रतियोगितामा अनुशासित खेलाडीको उपाधि त्रिपुरासुन्दरी-४ का बुद्धि विकले प्राप्त गरेका छन् भने उत्कृष्ट रेजरको उपाधि त्रिपुरासुन्दरी ५, ६ को संयुक्त भलिबल टिमका सिंह बम ठकुरीले प्राप्त गरेका छन् । 

कात्तिक १० गतेदेखि शुरु भएको प्रतियोगितामा जिल्ला भित्र र बाहिरका गरेर १९ भलिबल टिम समावेश भएका थिए । प्रत्येक टिमलाई ४ समूहमा विभाजन गरिएको थियो।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise