दक्षिण एसियाका मुलुकहरू सम्मिलित उपक्षेत्रीय मञ्चका सिर्जनाकार मध्येकै मुलुक हो, नेपाल । नेपालको भू–राजनीतिक अवस्था (विशाल दुई मुलुकसँग जोडिएको भूपरिवेष्ठित) जस्तो छ, हाम्रा नेतृत्वले त्यसलाई पक्कै ख्याल राखेरै उपक्षेत्रीय मञ्च सिर्जनामा अग्रसरता देखाए होलान् । सन् १९८० मा दक्षिण एसिया क्षेत्रीय सहयोग संगठन (सार्क) बनेपछि क्षेत्रीय मुलुकहरुले आपसी सम्बन्ध, हित र सहयोगका विषयमा साझेदारी गर्दै आएका छन् ।
तिनै, सार्क राष्ट्र सम्मिलित दक्षिण एसियाली खेलकुद (साग) को पनि नेपाल पहिलो आयोजक राष्ट्र हो । साग शुरु भए यता दक्षिण एसियाका मुलुकहरुबीच खेलकुदमा मैत्रीपूर्ण प्रतिस्पर्धा तर, यसैको माध्यमबाट क्षेत्रीय भावनालाई एकीकृत र मजबुत बनाउन सहयोग पुग्दै आएको छ । क्षेत्रीय सम्बन्धलाई थप उचाइमा पु¥याउनुपर्नेमा विशेष जोड दिदैं आएको नेपालले शनिबार काठमाडौंमा १३औं सागको भव्य उद्घाटन गरेको छ । नेपाल सागको आयोजक बनेको यो तेस्रो पटक हो । साग र क्षेत्रीय मुलुकहरु बीचको सम्बन्धबारे नेपालसँग लामै अनुभव तय भइसकेको छ ।
त्यसैले शनिबार दशरथ रंगशालाबाट नेपालले पछिल्लो अवस्था झल्काउने दृष्य देखाएको छ । उद्घाटनका दृष्यहरुले नेपाल यस्ता ठूला कार्यक्रम आयोजना गर्न सक्षम र सफल छ भन्ने प्रष्ट सन्देश दिएको छ । हुन त २०७२ को संविधान जारी भए पछि नेपालले वर्षेनि जस्तो अन्तर्राष्ट्रिय सम्मेलनहरु गरेर अन्तर्राष्ट्रिय जगतलाई सन्देश दिइसकेको छ । कुटनैतिक सम्बन्धलाई थप परिपक्क बनाउने सरकारी नीति अनुकुल नेपालको बातावरण समेत तय भइसकेको छ । राजनीतिक स्थिरतासँगै काठमाडौं शहर भ्रमणका लागि समेत उपयुक्त भएकाले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा संभव बन्दै गएको छ ।
तर, नेपालभित्रै भने सरकारको मूल्याङ्कन माथि व्याख्या गरिए जस्तो छैन । किन पनि भने जब कुनै भीभीआईपीको नेपाल आगमन हुँदा होओस् अथवा अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा आयोजना हुने अवस्थामा मात्रै काठमाडौंको भौतिक पूर्वाधारले अनुहार फेर्ने गरेको छ । त्यसैले देशले एउटा उचाइ लिइरहँदा पनि सरकारको मूल्याङ्कन सकारात्मक हुन सकिरहेको छैन । सागकै कुरा गर्ने हो भने ‘इलेभेन आवर’सम्म पनि दशरथ रंगशाला नै तयार भइसकेको थिएन ।
अन्त्यमा, आगामी दिनका लागि पनि यी परिघटना र परिदृष्य नजीर हुन् । सरकारलाई यो अवसर पनि हो– एक महीना पछाडि शुरु हुँदै गरेको नेपाल भ्रमण वर्ष–२०२० को तयारीलाई साग भन्दा थप व्यवस्थित बनाउने र नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणका सवालमा जस्तै, भौतिक पूर्वाधार निर्माणमा समेत गति लिदैछ भन्ने सन्देश दिने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies