२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

परम्परागत कृषिकर्म जगेर्नाको सवाल

ADV
प्रदिप सिंह
२०८१ कार्तिक २० गते ०६:१५
परम्परागत कृषिकर्म जगेर्नाको सवाल

नेपालको कृषि प्रणालीमा वर्षौंदेखि गोरु जोतेर खेती गर्ने परम्पराले ठूलो महत्व राख्दै आएको छ । तर, आधुनिक युगमा प्रविधि र मेसिनरीको प्रयोगले गर्दा यस्ता परम्परागत कृषि प्रणाली र गोरु जोतेर खेती गर्ने चलन हराउँदै गएको छ । खासगरी तराई क्षेत्र र अन्य ठाउँहरूमा यो चलन निकै ह्रास हुँदै गइरहेको छ । गोरुको महत्व, परम्परागत खेतीपातीको शैली र गाउँले जीवनशैलीको एउटा मुख्य पाटो भएको भए तापनि, यस्ता अभ्यासहरू समयसँगै लोप हुने क्रममा छन् ।

गोरु जोतेर खेती गर्ने चलन नेपाली ग्रामीण समाजको पहिचानको प्रतीक थियो । कटही गडी, टारगढी, गोरी, गोरु, हलो र जुवा जस्ता साधनको प्रयोग गरी गरिने खेतीले समाजमा एक प्रकारको अनुशासन, परिश्रम र सहकार्यको भावना ल्याउँथ्यो । मानिसहरू समूहमा मिलेर खेती गर्न जान्थे, र त्यसक्रममा श्रमको आदानप्रदान पनि हुन्थ्यो । तर, अहिले आधुनिक कृषि यन्त्रहरूको प्रयोग बढ्दै गएपछि गोरु पाल्ने र जोतेर खेती गर्ने परम्परा हराउँदै गएको छ ।

आधुनिक मेसिनहरू जस्तै : ट्र्याक्टर, थ्रेसर र अन्य खेतीका उपकरणहरूले कृषिलाई तीव्र र सजिलो बनाएको छ । मेसिनहरूको सहयोगले कम समयमा धेरै काम गर्न सकिने भएकाले किसानहरू आधुनिक यन्त्रतिर आकर्षित भएका छन् । यसले गर्दा गोरु जोतेर खेती गर्ने पुरानो तरिका क्रमशः विस्थापित भइरहेको छ । जसले गर्दा परम्परागत कृषि प्रणालीले बनाएको समाजमा आपसी समझदारी र सहयोगको भावना पनि हराउँदै गएको देखिन्छ ।

पर्यावरणीय असर

खेतीमा प्रयोग नहुने भएपछि गोरु पाल्न आर्थिकरूपमा व्यावहारिक नभएको भन्दै धेरै किसानहरूले गोरु पाल्न छोडेका छन् । यसले गर्दा गोरुको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ, जसका कारण जैविक विविधता र पर्यावरणीय सन्तुलनमा असर पर्ने सम्भावना बढेको छ । गोरु जोतेर गरिने खेतीमा मलजल र जैविक खादको प्रयोग हुन्थ्यो, जसले माटोमा प्राकृतिक उर्वरता कायम राख्न मद्दत गथ्र्याे । यद्यपि, मेसिनहरूको प्रयोगले यस्तो परम्परागत अभ्यास घटाएको छ र यसले लामो समयसम्म माटोको गुणस्तरलाई असर गर्न सक्छ ।

यदि यस्ता परम्परागत कृषि पद्धतिहरूलाई संरक्षण गर्न सकियो भने हामी हाम्रो सांस्कृतिक धरोहर र वातावरणीय सन्तुलन दुवैलाई बचाउन सक्छौं । स्थानीय स्तरमा गोरु जोतेर गरिने खेतीलाई प्रोत्साहन गर्ने, जैविक खेतीमा जोड दिने र सरकारले किसानहरूलाई परम्परागत कृषि प्रणाली अपनाउन प्रोत्साहित गर्ने नीति ल्याउन सके यस क्षेत्रको मौलिकतालाई बचाउन सकिन्छ । यस प्रकार, गोरु जोतेर खेती गर्ने परम्पराको संरक्षणले हाम्रो पुरानो संस्कृतिको सम्मान मात्र होइन, वातावरणीय सन्तुलन र ग्रामीण अर्थतन्त्रको दीर्घकालीन लाभलाई पनि बचाइराख्न मद्दत गर्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise