काठमाडौं : मलेसिया प्रवेश गर्ने आप्रवासी कामदारको स्वास्थ्य परीक्षणको जिम्मेवारी पाएको त्यहाँको बेष्टिनेट कम्पनीले कामदार माथि कुनै पनि शोषण नगरेको प्रमाणित भएको छ । उक्त कम्पनीमाथि रोजगारीका लागि मलेसिया जाने श्रोत मुलुकका कामदार माथि शोषण गरेको र सम्पति शुद्धिकरण गरेको आरोप लागेको थियो ।
मंगलबार बसेको मलेसियन संसद्मा जवाफ दिँदै त्यहाँका मानव संशाधन मन्त्री एम कुलासेगरनले आफु मन्त्रीमा नियुक्त भए लगत्तै बेष्टिनेट माथि छानविन शुरु गरेको तर अनुसन्धानमा उक्त कम्पनीले कुनैपनि प्रकारको अनियमितता नगरेको प्रष्ट भएको बताएको मलेसियाको प्रतिष्ठित अनलाईन दि स्टारले आफ्नो मंगलबारको अंकमा उल्लेख गरेको छ । यसै वर्ष नेपालको पाटन उच्च अदालतले पनि उक्त कम्पनीमा आवद्ध नेपालका निजी क्षेत्रका ३६ स्वास्थ्य संस्था विरुद्ध लागेको ठगीको आरोप असत्य प्रमाणित गरी निजी मेडिकल संस्थाहरुलाई सफाई दिएको थियो ।
मलेसियाको संसद्मा बेष्टिनेटमाथि लागेका आरोपबारे सोधिएको प्रश्नमा मन्त्री कुला सेगरनले भने, ‘बेष्टिनेट माथि गतवर्ष लगाइएका आरोप असत्य पाइएका छन् । वास्तवमा मैले नै आप्रवासी कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने बेष्टिनेट माथि धेरै आरोपहरु लगाएको थिएँ । तर स्वास्थ्य परीक्षणका क्रममा कामदारमाथि शोषण गरेको वा सम्पति शुद्धिकरण गरेको भन्ने कुनैपनि आरोप पुष्टी हुने आधार अनुसन्धानका क्रममा फेला परेनन् ।’
बेष्टिनेट एडीएन बिएचडीका प्रमुख कार्यकारी अधिकृत स्माईल मोहम्मद नुरले मन्त्री सेगारनको स्पष्टीकरणलाई आफ्नो कम्पनीले उच्च सम्मान गरेको भन्दै पाएको सफाईले आप्रवासी कामदारको स्वास्थ्य परीक्षणमा शुद्धता ल्याउन गरेको कडा मेहनतको सम्बोधन भएको बताए ।
उनले आप्रवासी कामदारको स्वास्थ्य परीक्षणको विषय आगामी दिनमा थप पारदर्शी बनाउने समेत जानकारी दिँदै फरेन वर्कर म्यानेजमेन्ट सिष्टमले मलेसियाका रोजगारदाता, कामदार आपूर्ति गर्ने एजेन्सी, कामदार, श्रोत मुलुक र मेडिकल सेन्टरहरुलाई एकीकृत गरेर कामदारको सुरक्षा, स्वास्थ्य र कल्याणकारी कामलाई सहज गर्ने बताए ।
सन् २०१३ मा विदेशी कामदारको स्वास्थ्य परीक्षण प्रणाली सञ्चालन गर्न अनुमति पाएको बेष्टिनेटले सन् २०१५ बाट औपचारिक रुपमा काम शुरु गरेको थियो । त्यसपछि नेपालका निजी क्षेत्रका मेडिकल उक्त प्रणालीमा आवद्ध भएका हुन् । सन् २०१७ मा संयुक्त राष्टसंघबाट समेत पुरस्कृत भएको बेष्टिनेट यसैवर्ष सिंगापुरबाट टेक्नोलोजी केशस्टडी पुरस्कारबाट समेत सम्मानित भएको छ । बेष्टिनेटले आगामी केही वर्षमा आफ्नो सेवालाई विश्वव्यापी रुपमा विस्तार गर्ने गृहकार्य गरिरहेको बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies