काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शक्ति बाँडफाँड अभ्यासमा आएको छ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली सिंगापुर उपचारमा जानुअगाडि गत भदौं ४ गते बसेको सचिवालय बैठकले अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टी निर्णय लिन सक्ने अधिकार दिइएको थियो । एक वर्ष अगाडि २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र बीच एकीकरण भइ नेकपा बनेपछि पहिलो पटक दाहालले मात्रै बैठक राख्न सक्ने अधिकार दिइएको थियो ।
त्यसअगाडि दुवै अध्यक्षको उपस्थितिमा मात्रै पार्टी निर्णय हुँदै आएको थियो । तर, ओलीको स्वास्थ्य अवस्थाका कारण अध्यक्ष दाहाललाई कार्यकारी अधिकार दिइयो । यसको चार दिन पछाडि भदौं ९ गते पार्टी महत्वपूर्ण पार्टी निर्णय भयो । जेठ ३ देखि चार महिनासम्म सचिवालयले गरेको निर्णय अन्तरपार्टी निर्देशिका (अपानि) समेत दाहालले जारी गरेका थिए । तर, ओली स्वदेश फर्किए पछि दाहालले गरेको निर्णयप्रति असन्तुष्टि जनाए । लगत्तै दुवै अध्यक्षको हस्ताक्षर मात्रै फेरेर अपानि जारी भयो । हस्ताक्षर मात्रै सच्याएर अपानि जारी भए पछि दाहाल बिच्किएका थिए । उनले विद्रोहकै चेतावनीयुक्त सार्वजनिक अभिव्यक्ति दिए । पार्टीमा शक्ति सन्तुलन बिग्रिएको अनुमान गरियो ।
तर, मंसिर ५ गते भने सचिवालयको लिखित निर्णयअनुसार, ओली र दाहालले कार्यविभाजन गरे । ओलीले पाँचै वर्ष सरकार चलाउने र दाहालले पार्टी चलाउने निर्णय भयो । यो निर्णयसँगै दाहालको सक्रियता बढेको छ । उपनिर्वाचनमा दौडधुप गरे भने प्रतिपक्षी दलका अध्यक्षको हैसियतमा उनले सार्वजनिक अभिव्यक्ति दिए ।
निर्णय कार्यान्वयन
चीन भ्रमण स्थगित गरेका अध्यक्ष दाहालले सोमबार सचिवालय बैठक बोलाए । प्रधानमन्त्री ओली बालुवाटार फर्किएकै दिन सचिवालय राखेका दाहालले सोमबार केही महत्वपूर्ण निर्णय लिएका छन् । दाहालको एकल अध्यक्षतामा बसेको बैठकले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । नेकपा बनेपछि पहिलो पटक स्थायी कमिटी बसेको एक वर्षपछाडि सचिवालय बैठक बोलाइएको हो । पार्टी एकीकरण प्रक्रियाकै क्रममा गत वर्ष मंसिर २९ गतेदेखि माघ पहिलो सातासम्म स्थायी कमिटी बैठक बसेको थियो । त्यसपछि बस्न नसकेको स्थायी कमिटी बैठकलाई नेकपाले महत्वका साथ लिएका छन् ।
साथै, यो स्थायी कमिटीले पार्टीको वैचारिक कार्यक्रमबारे समेत छलफल गर्ने भएको छ । यति महत्वपूर्ण बैठकमा पूर्ववर्ती एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओली अनुपस्थित थिए । स्वास्थ्यका कारण भन्दै धुम्बाराहीमा बसेको नेकपा सचिवालयको बैठकमा ओली अनुपस्थित रहे । तर, स्वास्थ्यका कारण देखाएका ओलीले सचिवालय सकिएपछि मन्त्रिपरिषद् बैठक बोलाए । सोमबारको दुई फरक बैठकलाई ओली र दाहालले छुट्टा–छुट्टै अध्यक्षता गर्नुले नेकपाभित्र जिम्मेवारी बाँडफाँडको कार्यान्वयन शुरु भएको औपचारिकता समेत पाएको छ । जुन आफैंमा ऐतिहासिक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies