भक्तपुर : शुक्रबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा व्रर्तालुको घुइँचो थियो । बाँकी तीन छेउ वरपर पाला अर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त देखिन्थ्ये भने कोही निभेका बत्ती बाल्दै थिए ।
तराईको झल्को दिने गरी दुलहीझै सिँगारिएर झकिझकाउ बनाइएको कमलपोखरीमा छठ मनाउन तराईवासीसँगै भक्तपुरका स्थानीय पनि सहभागी थिए । तराई क्षेत्रमा मनाइने छठ पर्व भक्तपुरमा पनि हर्षोल्लासका साथ मनाइएको छ । भक्तपुरमा तराई मधेसका समुदायकासँगै मिलेर स्थानीयले संस्कृति र परम्पराअनुसार पूजाआराधनासहित छठ मनाएका हुन् । आज बिहानै छठ मनाउन रातभर जाग्राम बसेका व्रर्तालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गरी चार दिनको व्रतसहित छठ सम्पन्न गरेका छन् ।
भक्तपुरमा बस्दै आएका तराईवासीले कमलपोखरीमा छठ पर्व मनाएको यो पहिलो वर्ष भने होइन । सर्लाहीबाट भक्तपुरको कमलविनायकमा व्यवसाय गरेर बस्दै आउनु भएका छठ पर्व आयोजक समितिका संयोजक लक्ष्मण रौनियारले विगत १० वर्षदेखि यहाँ छठ मनाउन व्यवस्थापन गर्दै आइएको बताए ।
पर्वका लागि बिहीबार पोखरीलाई सजाएर झकिझकाउ बनाइएको थियो भने साँझ व्रर्तालुले अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिएर छठी देवीको पूजा गरेर पर्व मनाएका रौनियारले उल्लेख गरे । कमलविनायकमा चटपटे व्यवसाय गर्दै आएकी सुभद्रा साहले विगत तीन वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउँदै आएको जनाउँदै छठमा घर जान नपाउनेहरुका लागि यहाँको व्यवस्थापनले सजिलो बनाएको बताइन् ।
विशेष गरेर तराईवासीले हर्षोल्लासकासाथ मनाउने छठ पर्व आज भक्तपुरमा सबै धर्मावलम्वीले सामूहिक रुपमा मिलेर मनाएको दृश्य देखिएको भन्दै उक्त दृश्यले मनलाई आनन्दित बनाएको स्थानीय कमल श्रेष्ठ बताए ।
समितिका संयोजक रौनियारले विभिन्न धर्म, समुदाय र जातका मानिस एकसाथ सहभागी भएर पर्व मनाएका बताए । विगतका वर्षमा एक सय परिवार पनि नहुनेमा यसवर्ष एक सय ५० भन्दा बढी परिवारले यहाँ छठ मनाएका उनले जानकारी दिए ।
सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व यसवर्ष शुक्रबारदेखि सुरु भएको थियो । चार दिनसम्म मनाइने पर्वको मुख्य दिन आज हो । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व अत्यन्तै श्रद्धा र निष्ठाका साथ मनाइन्छ । तराईमा सीमित यो चाँंड पछिल्लो वर्ष तराईका साथै काठमाडौँ उपत्यकामा पनि भव्य रुपमा मनाउन थालिएको छ ।
पर्वको मुख्य विशेषता अस्ताउँदो र उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएर मात्र पूजा सम्पन्न गर्नु हो । छठ मनाउन पोखरी पुग्नुभएकी शान्ता महतोले पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै यो पर्व परिवारका सबै सदस्य तथा समूहमा मनाएको बताए ।
पर्वको क्रममा पहिलो दिन कार्तिक शुक्ल चतुदर्शीका दिन नहाय खाय (नुहाएर चोखो भई शुद्ध शाहाकारी भोजन खाने), दोस्रो कार्तिक पञ्चमीका दिन खरना पूजा गर्ने र यस दिन व्रर्तालुहरू स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्ने, पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाइ प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई खुवाउने गर्छन् । आज अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन गरिएको हो ।