२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

प्रेस काउन्सिलमा मिडिया व्यवस्थापनबारे छलफल

ADV
मध्यान्ह
२०८१ कार्तिक २३ गते १४:४५
प्रेस काउन्सिलमा मिडिया व्यवस्थापनबारे छलफल

काठमाडौं : प्रेस काउन्सिल नेपालमा संघीयताको ढाँचामा मिडिया व्यवस्थापनलाई कसरी राम्रो बनाउने सम्बन्धमा छलफल सम्पन्न भएको छ । छलफललाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले उपस्थित सबै निकायको साझा उद्देश्य भएकाले समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताए । काममा दोहोरोपना हुन नहुने बताउँदै उनले मिडिया क्षेत्रको समग्र विकास र नियमनका लागि सबै नियकायहरूबीच समय समयमा छलफल भइरहनुपर्ने समेत बताए ।

बागमती प्रदेश प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले संघीय संरचनामा स्थापित पहिलो सञ्चार रजिष्ट्रारको कार्यालय बागमती भएको हुँदा कामको थुप्रै अप्ठ्यारा आएको र त्यसको सुधार कसरी भयो भन्नेबारे प्रकाश पारे । साथै उनले मिडियाको सेवा प्रवाह र नियमनका सम्बन्धमा राष्ट्रिय आमसञ्चार मापदण्ड हुनुपर्ने र सोही आधारमा प्रदेश रजिष्ट्रारहरूले पनि कानून बनाइ लागू गर्नुपर्ने बताए । यसो गर्दा सबै प्रदेशमा काममा एकरुपता आउनेसमेत उनले बताए । यसका लागि संघीय निकायले एउटा सफ्टवेयर बनाइ नियमन गर्ने र प्रदेश सञ्चार रजिष्ट्रारले सोहीमार्फत सेवा प्रवाह गरे राज्यले समेत मिडियाको सम्बन्धमा सधैं अपटुडेट हुने अवस्था रहने बताए ।

गण्डकी प्रदेश प्रेस रजिष्ट्रार विमला भण्डारीले सञ्‍चार रजिष्ट्रार गण्डकीको नियमावलीहरू बन्दै गरेको र यसका लागि सम्बन्धित सबै निकायबाट सुझावको आशा गरिएको बताइन् । साथै, सबै निकायको साझा उद्देश्य मिडियाको विकास नै भएकाले सबैले मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले न्युज एजेन्सीहरूको व्यवस्थापन तथा नियमनका लागि समेत कानूनीरूपमा सम्बोधन गर्न जरुरी भएको बताए ।

सञ्‍चार रजिष्ट्रारको कार्य प्रक्रियाको सम्बन्धमा बुझ्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आगामी दिनमा समेत छलफल आयोजना गर्न समन्वय गर्ने बताए । मिडिया सम्बद्ध निकायहरूको तथ्यांक आदानप्रदान र छलफल कम्तीमा दुई महिनामा एकपटक गर्ने व्यवस्था मिलाइने उनले बताए ।

सूचना तथा प्रसारण विभाग र सञ्चार रजिष्ट्रारहरुमा दर्ता नवीकरण भइ सूचीकरण/नवीकरण गर्न प्रेस काउन्सिलमा आएका अनलाइन मिडियाहरूको सम्बन्धमा देखिएका समस्या र समाधानका विषयमा काउन्सिलको तर्फबाट सुझाव दिइएको थियो ।

छलफलले मिडिया क्षेत्रको विकास र व्यवस्थापनका सम्बन्धमा सम्पूर्ण सरोकारवाला नियकाय र मिडियाहरूसमेतको उपस्थितिमा बृहत् छलफल आयोजना गर्ने निर्णयसमेत गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा भएको छलफलमा सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम, सञ्चार रजिष्ट्रार (बागमती) रेवतीप्रसाद सापकोटा, सञ्चार रजिष्ट्रार (गण्डकी) विमला भण्डारी, काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरा र शाखा अधिकृत सुवास राईलगायतको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise