ताप्लेजुङ : ताप्लेजुङको पाथिभरा मन्दिर पुग्नका लागि केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ । केबलकार बनाउन दिने र नदिने पक्षकाहरूबीच शुक्रबार झडप भएको हो ।
शिलान्यासका लागि निर्माण सामाग्री लिएर जाने क्रममा स्थानीयले अवरोध गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।
अहिलेपनि त्यहाँ केबलकार बनाउन नदिने भन्दै स्थानीयहरूले प्रदर्शन चर्काएका छन्। अवस्था सामान्य बनाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै पहिचान पक्षधरहरूले यसअघिदेखि नै आन्दोलन गर्दै आएका थिए । प्रकृति नष्ट गरेर केबलकार बनाउन नहुने उनीहरूको तर्क छ ।
मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् भने अर्काथरिले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज गर्ने र ताप्लेजुङको पर्यटकीय महत्व अरु बढ्ने भन्दै विरोध नगर्न आग्रह गर्दै आएका छन् ।