२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गरिने

Nada
२०८१ कार्तिक २३ गते १७:००
Shares
सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गरिने

काठमाडौंः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख सहरी चुनौती सम्बोधन गर्न ‘यूनाइटेड नेसन्स ह्युमन सेटलमेन्ट प्रोग्राम’ (यूएन–ह्याबिटेट) सँग सहकार्य गरिने बताएका छन् ।

ncell

इजिप्टको कायरोमा जारी ‘वल्ड अर्बान फोरम’को कार्यक्रममा आज यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि काजुको इसिगाकी र नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिङ्गर ह्याम्डीसँग मन्त्री सिंहले द्विपक्षीय बैठक गरेका थिए । बैठकमा उनले नेपालले सामना गरिरहेको प्रमुख सहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य आवश्यक रहेकामा जोड दिएको उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा इसिगाकीले तथ्य र तथ्याङ्कमा आधारित योजनामा यूएन ह्याबिटेटको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी नेपालका लागि आवासीय प्रतिनिधि ह्याम्डीले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन रहने जानकारी गराए । 

मन्त्री सिंहको सचिवालयका अनुसार दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्न र सहरी योजनालाई मुख्य प्रवाहमा ल्याउने जटिल सहरी चुनौतीको सामना गर्न यूएन ह्याबिटेटको भूमिकामासमेत आवासीय प्रतिनिधि ह्याम्डीले जोड दिए । विश्व फोरममा नेपालका तर्फबाट उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रमा सम्बोधन गरेका थिए। 

उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गरेका थिए । नेपाल जस्ता विकासोन्मुख देशले कम कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनको प्रत्यक्ष असर धेरै देखिएकाले अन्तर्राष्ट्रियस्तरको जलवायु वित्तमा सजिलो पहुँच र प्राविधिक सहयोगमार्फत मात्र जलवायु न्याय हुने कुरा विश्व समुदाय समक्ष जोडदार रुपमा उठाएको मन्त्री सिंहको सचिवालयले जनाएको छ ।

इजिप्टको कायरोमा नोभेम्बर ४ बाट शुरु भएको फोरम आज समापन हुँदैछ । उपप्रधान सिंह भोलि शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।

सम्बन्धित खबर