बलात्कारजस्तो गम्भीर आरोप लागेपछि असोज १४ गते कृष्णबहादुर महराले राजीनामा दिए । दशैं परेकाले महराको राजीनामा असोज २३ गते मात्रै स्वीकृत भयो । महराको राजीनामा स्वीकृत भए सँगै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाको नेतृत्व गरिरहेकी छन् । उपसभामुख तुम्बाहाङ्फे यतिबेला पुस ४ गते बोलाइएको हिउँदे अधिवेशनको तयारीमा जुटेकी छन् ।
तर, अधिवेशनको मिति तोकिए सँगै रिक्त सभामुख पदको चयनबारे चर्चा शुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नयाँ सभामुखबारे गृहकार्य नै अगाडि बढाएको छ । नेकपा सभामुख पद गुमाउने पक्षमा छैन । तर, एउटै दलबाट सभामुख र उपसभामुख हुन नमिल्ने वैधानिक अड्चनका कारण उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने तयारीमा नेकपा जुटेको छ । नेकपाको तयारीअनुसार, उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने र दुवै पदका लागि एकै पटक निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ ।
दुवै पद रिक्त रहेको अवस्थामा मात्र सभामुख पदमा नेकपाले उम्मेद्वारी दिने वैधानिक बाटो खुल्नेछ । त्यही बाटो नेकपाका नेताहरु हिड्न खोजेका छन् । अव नयाँ उपसभामुख को बन्ला भन्दा पनि बहालवाला उपसभामुख तुम्बाहाङ्फेकै चर्चाले ध्यान तानेको छ । संसदीय अभ्यासमा सभामुखको भूमिकाको महत्व राम्रोसँग बुझेको नेकपाले दुई तिहाइ प्रयोगकै खातिर तुम्बाहाङ्फेलाई राजीनामा गराएर भए पनि आफ्नै सभामुख राख्न चाहन्छ । किनभने, सभामुखले संसदीय प्रक्रिया अगाडि नबढाइदिने अवस्था बन्यो भने दुई तिहाइ मतको आफैंमा कुनै अर्थ रहन्न । तसर्थ, आफैंले उपसभामुख चयन गरेको तुम्बाहाङ्फेलाई राजीनामा गराउनलाई कुनै अप्ठ्यारो नेकपाले मानेको छैन ।
तर, उपसभामुख तुम्बाहाङ्फेले भने राजीनामा गर्ने प्रस्ताव अस्वीकार गर्दै आएकी छन् । उनीले महराले गरेको गल्तीको सजाय आफूले नभोग्ने बताउँदै आएकी छन् । तुम्बाहाङ्फेको तर्कप्रति आमजनमा ठूलो समर्थन देखिन्छ । किनभने, महराले गल्ती गरेकै कारण निर्दोष व्यक्तिले पद गुमाउनु कुनै अर्थमा पनि उपयुक्त हुन्न । अझ सभामुख र उपसभामुख मध्ये एक महिला हुनुपर्ने कानूनी बाध्यताका कारण तुम्बाहाङ्फे उपसभामुख बनेकी हुन् । यदि, नेकपाले संविधानको भावनाको पूर्ण पालना गरेको थियो भने महिला सशक्तिकरणका लागि तुम्बाहाङ्फेलाई नै सभामुख बनाउँदा पनि तात्विक फरक पर्ने थिएन । तर, महिला कमजोर हुन्छन् भन्ने सोंच हावी भएकै कारण उनी सभामुख बनिन् । अब फेरि उनलाई नगरेको गल्तीको सजाय दिने हो भने नेकपाले जित्ला र संसदमा सहज बातावरण त तय गर्ला । तर, साचों अर्थमा लोकतन्त्र भने कमजोर हुनेछ । यो बेला शिवमाया तुम्बाहाङ्फेको शक्ति भनेको लोकतन्त्रको सम्मान पनि हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies