केशर धामी/मध्यान्ह
काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा स्मार्ट ट्राफिक लाइट जडान गरियो । जडान गरिएका ट्राफिक लाइटहरू बढीमा एक महिना टिके । त्यसपछि ट्राफिक लाइटले काम गर्न सकेनन् । त्यो एक महिनाका लागि भए पनि ट्राफिक प्रहरीले चैनसँग बस्न पाए । त्यसपछि ट्राफिकलाई अवस्था पुरानै आयो । बीच सडकमा उभियो सिठ्ठी फुक्यो हातको इसारामा सवारीलाई निर्देशन दियो ।
यसरी ट्राफिक व्यवस्थापन गर्दा एकातिर ढिलासुस्ती हुन्छ भने अर्कोतिर ट्राफिक प्रहरीको स्वास्थ्यमा समेत गम्भीर असर पर्छ । दिनभर धुलो धुवाबाट ट्राफिक प्रहरीलाई श्वासप्रश्वासको समस्या देखिने गरेको छ । केही समय अगाडि कलंकी चोकका ट्राफिक व्यवस्थापन गर्दै आएका एक ट्राफिक जवानकी श्रीमती बिन्तीभाउ लाउँदै ट्राफिक हाकिमको कार्यकक्षमा पुगिन् । उनले हाकिमसँग भनिन्, ‘या मेरो श्रीमानलाई राम्रो ठाउँमा सरुवा गरिदिनुहोस्, या त राजीनामा दिनुहुन्छ स्वीकृत गरिदिनुहोस् ।’ उनको कुरा सुनेर ति हामिक जवाफविहिन बने ।
यो एक ट्राफिक जवानको मात्र समस्या नभएर काठमाडौंसहित बढी सवारी चाप हुने क्षेत्रका ट्राफिक प्रहरीको हो । नेपालमा ट्राफिक व्यवस्थापनमा परम्परागत विधि नै अपनाइछ । त्यो हो, हातको इसारा र सिठ्ठीको भर । राजधानी काठमाडौंका सडकमा नै ट्राफिक लाइट छैनन् । सरकार आफैंले लगानी गरेर जोड्ने कुरा त परै जाओस्, जापान सरकारले ठूलो लगानी गरेर जोडिदिएको लाइट पनि पत्रु भइसकेको छ । ट्राफिक लाइट नहुँदा ट्राफिक प्रहरीलाई हैरानी मात्रै छैन, सवारी चालक र यात्रुलेसमेत सास्ती खेप्नु परेको छ । देशभर करिब ३६ लाखभन्दा बढी सवारी दर्ता छन् ।
काठमाडौंमा मात्रै करिब १४ लाख सवारी दर्ता छन् । यति धेरै संख्यामा रहेका सवारी साधनहरु ट्राफिकले हात हल्लाएकै भरमा व्यवस्थापन गरिन्छ । विश्वले सवारी व्यवस्थापनका प्रविधिहरूमा फड्को मारिरहँदा नेपालमा भने परम्परागत सिठ्ठी र ईशारामा भर पर्नुपर्ने अवस्था छ । ट्राफिक प्रहरीका पूर्वनिरीक्षक सिताराम हाछेथु यस्तो अवस्थालाई लाजमर्दो अवस्था मान्छन् । विश्वका नयाँ–नयाँ प्रविधिको विकास भइरहेका बेला नेपालमा परम्परागत विधि नै अपनाइदाँ ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण बनिरहेको उनको तर्क छ ।
ट्राफिक लाइट नजोडिँदा ट्राफिक जनशक्तिले नियमनभन्दा सवारी र जाम व्यवस्थापनमै बढी ध्यान दिनुपर्ने अवस्था रहेक उनको भनाइ छ । विहानदेखि रातिसम्म धुँवाधुलो खाँदै सडकमा खटिनु निकै चुनौतीपूर्ण र स्वास्थ्यका हिसावले जोखिमयुक्त रहेको उनी बताउँछन् । हाल काठमाडौं उपत्यकामा १ हजार ३ सय ६८ जना ट्राफिक प्रहरी छन् । विभिन्न ४० वटा इकाइमा विभाजित भएर उनीहरूले ड्यूटी गर्दै आएका छन् । यो संख्या अपर्याप्त रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको गुनासो छ । महाशाखाका प्रमुख भीम ढकाल स्रोतसाधनको अभावमा ट्राफिक व्यवस्थापनमा निकै समस्या भइरहेको बताउँछन् ।
स्मार्ट प्रविधिको प्रयोगमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । सरकारले दुई वर्षअघि एसियाली विकास बैंक (एडीबी) को आर्थिक तथा प्राविधिक सहयोगमा ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’को योजना बनाएको थियो । त्यसका लागि एडीबीले सरकारलाई ३३ करोड रुपैयाँ समेत दिएको थियो । तर त्यो ‘फ्रिज’ भएर गयो । काठमाडौंका केही मुख्य चोकमा पुरानै लाइट मर्मत गरेर चलाउने गरी तयारी सडक विभागले गरेको छ । काठमाडौंमा थप ८ वटा चोकमा केही समयभित्रै ट्राफिक लाइट बल्ने विभागको दावी छ ।
महाराजगञ्ज र नयाँबानेश्वर चोकको परीक्षण सफल भएपछि नयाँ चोकहरुमा पनि त्यसलाई विस्तार गर्न लागिएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाको भनाइ छ । काठमाडौंमा बढी व्यस्त हुने सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी, तीनकुने, पुरानो बानेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक लाइट राखिन लागेको विभागको भनाइ छ । तीनकुने, कालिमाटी, पुरानो बानेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ लाइटहरु जोडिएको हो । अन्य स्थानमा भने पुरानै ट्राफिक लाइटको पूर्वाधार प्रयोग गरेर सञ्चालनमा ल्याउन अन्तिम तयारी भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies