२०८१ मंसिर १८ गते मङ्गलवार / Dec 03 , 2024 , Tuesday
२०८१ मंसिर १८ गते मङ्गलवार

यु-१९ महिला टी-२० विश्वकप छनोट : नेपाल यूएईसँग १३ रनले पराजित

ADV
मध्यान्ह
२०८१ कार्तिक २४ गते १६:४२
यु-१९ महिला टी-२० विश्वकप छनोट : नेपाल यूएईसँग १३ रनले पराजित

काठमाडौं : यूएईमा जारी आईसीसी यु–१९ महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)को अजमानस्थित द सेभेन रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली यूएईले नेपाललाई १३ रनले हराएको हो । 

यूएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय नौ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४३ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ४८ रन बनाएकी हुन् । साना प्रवीण र सोनी पाख्रिनले समान १९÷१९ रन बनाए । ज्योत्स्निका मरासिनीले ११, सावित्री धामीले ७ र एलिशाकुमारी यादवले तीन रन बनाइन् । यो खेलमा नेपालले अतिरिक्त तीन रन पाएको छ । यूएईका लागि इन्धुजा नन्दकुमार, लावन्या केनी र मेहक ठाकुरले समान १-१ विकेट लिए । 

 त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो । यूएईका लागि रिनिथा रञ्जितले सर्वाधिक ४८ रन बनाइन् । उनले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाएकी हुन् । यस्तै लावन्या केनीले २०, इन्धुजा नन्दकुमारले १२, समाइरा धरनिधर्कले ८, अल मसीरा जहाँगीरले ६ रनको योगदान दिए । ऋषिता राजित र अवनी सुनिल पाटिलले समान ९÷९ रन बनाए । युएइले अतिरिक्त १० रन प्राप्त गरेको हो । 

नेपालका लागि रिया शर्माले सर्वाधिक तीन विकेट लिइन् । पूजा महतो, कृश्मा गुरुङ र सीमा केसीले समान १-१ विकेट लिए । एसिया छनोटमा नेपालको यो पहिलो हार हो । यसअघि नेपालले दुई खेल जितेको थियो । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।

नेपालले आइतबार थाइल्याण्डसँग चौथो खेल खेल्नेछ । छनोट खेलमा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise