२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

स्टार्टअप’का कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउनुपर्छ : मुख्यमन्त्री सिंह

ADV
मध्यान्ह
२०८१ कार्तिक २४ गते १७:२८
स्टार्टअप’का कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउनुपर्छ : मुख्यमन्त्री सिंह

वीरगञ्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले ‘स्टार्टअप’ तथा नवउद्यमीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको जानकारी दिएका छन् ।

आज आयोजित ‘स्टार्टअप तथा नवउद्यमी सम्मेलन, मधेश प्रदेश २०२४’ कार्यक्रममा उनले नयाँ सोच र विचारसहित आएका नवउद्यमीलाई प्रोत्साहन गर्ने खालका नीति र कार्यक्रम अघि सारेको बताए ।

“नेपालका अधिकांश पुरुष काम वा अध्ययनका क्रममा विदेशमा रहेकाले पनि स्टार्टअपका कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउन जरुरी देखिएको छ”, उनले भने, “महिलालाई नवउद्यमशीलतामा अघि बढाउन सकेको खण्डमा सकारात्मक प्रभाव पार्न पनि सकिन्छ ।”

मुख्यमन्त्री सिंहले ‘स्टार्टअपमा आधारित व्यवसाय शुरु गर्दा नाफा मात्र नभइ घाटा पनि हुने बताए । “स्टार्टअप शुरु गर्नेबित्तिकै सफलता हात पार्न सकिन्छ भन्ने हुँदैन”, उनले भने, “स्टार्टअप गर्दाका भएका गल्ती र कमजोरीबाट सिकेर अघि बढ्नसके मात्रै अपेक्षाकृत नतिजा हात पार्न सकिन्छ ।”

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश स्टार्टअप समिति, मधेश सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘स्टार्टअप तथा नवउद्यमी सम्मेलन, मधेश प्रदेश २०२४ कार्यक्रममा स्टार्टअपसँग सम्बन्धित करिब चार सयभन्दा धेरै सहभागी रहेका छन् ।

मधेश प्रदेश उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ अन्सारीले स्टार्टअप व्यवसायकै माध्यमबाट मधेश प्रदेशको आर्थिक विकास र रोजगारी सिर्जना गर्नसक्ने बताए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्टार्टअपसँगसम्बन्धी नयाँ सोच र भिजन लिएर आउने युवालाई सधैं प्रोत्साहन गर्ने बताए । गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चामरियाले स्टार्टअपको मार्केट विश्वव्यापी भएकाले सोहीअनुरुपमा नयाँ सोचको विकास गर्नुपर्ने बताए । “जहाँ समस्या हुन्छ । त्यहाँ नयाँ स्टार्टअपको जन्म पनि हुने गर्छ”, उनले भने, “समस्या भएको ठाउँमा स्टार्टअपका माध्यमबाट नयाँ विजनेसको सुरुआत पनि गर्न सकिन्छ ।”

ADVADV

सम्बन्धित खबर

Advertise