कपिलवस्तु : लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्ने बताउँदै यसका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरूको विशेष भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
जनसमुदायको अपेक्षाहरू पूरा गर्न आवश्यक कदमहरू उठाइने आश्वासन दिएका छन्, जसले स्थानीय जनमानसमा उत्साह र आशा पैदा गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा उनले कृष्णनगरमा महिला सेल भवन निर्माणका लागि प्रदेश सरकारले २२ करोड रुपैयाँ विनियोजन गर्ने जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुको विकासमा प्रदेश सरकारको सक्रियता आवश्यक रहेको बताए र शिक्षालाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे । नगरपालिकाका मेयर रजत प्रताप शाहले विद्यालयहरूमा विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था आवश्यक रहेको र भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले पहल गर्नुपर्ने बताए ।
स्वागत कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय अध्यक्ष ब्रमहानन्द उपाध्याय, समाजसेवी भरत किशोर चौधरी, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्तासहित स्थानीय नेताहरूको सहभागिता रहेको थियो ।