२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

तिब्बतको नाक्छु शहरका नगर प्रमुखलाई टोखामा नागरिक अभिनन्दन

ADV
मध्यान्ह
२०८१ कार्तिक २५ गते २२:३८
तिब्बतको नाक्छु शहरका नगर प्रमुखलाई टोखामा नागरिक अभिनन्दन

सुशान्त न्यौपाने/मध्यान्ह

काठमाडौं : टोखा नगरपालिका र तिब्बतको स्वशासित क्षेत्र नाक्छु शहरबीच ४ वर्षअघि भगिनी सम्बन्ध कायम भइसकेको अवसरमा आज नाक्छु शहरका नगर प्रमुखसहितको भ्रमण टोलीले टोखा नगरको भ्रमण गरेका छन् । भगिनी सम्बन्ध कायम भएको अवसरमा टोखा नगर प्रमुखले तिब्बतको नाक्छु शहरको भ्रमण केही वर्ष अघि नै गरिसकेका छन् ।

टोखा नगर प्रमुख प्रकाश अधिकारीको औपचारिक भ्रमणको निमन्त्रणमा शनिबार नाक्छु शहरबाट नगर प्रमुख तासी दोर्जीसहितको ६ सदस्यीय टोली औपचारिक भ्रमणका लागि नेपाल आएका थिए । 

आइतबार बिहान टोखा नगरपालिकाले नाक्छु शहरका नगर प्रमुखलाई एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गरेको छ । 

कार्यक्रममा बिहान ८ बजे टोखा गेटमा नाक्छु शहरका नगर प्रमुखसहितको टोलीलाई टोखा मेयर प्रकाश अधिकारी, उपमेयर मुरारी तामाङ र प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले स्वागत गरेका थिए । 

कार्यक्रममा टोखा गेटबाट नेवारी बाजागाजा र खैंजेडी भजनसहित जनप्रतिनिधिहरु, कर्मचारीहरु, पूर्व जनप्रतिनिधिहरु,  नगर प्रहरी, नेपाल प्रहरी, शिक्षक तथा विद्यार्थीहरु र नेवारी भेषभूषामा सजिएर धिमेबाजा, बाँसुरी समूह र ब्याण्ड बाजा बजाएर टोखा बजार परिक्रमा गरेपछि आयोजित सभामा टोखाको मौलिक मयुर नाचबाट विदेशी पाहुनाहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा नेवारी नृत्य, कुमारी नाच र तरिया नाच प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले स्वागत मन्तव्य राख्दै नाक्छु शहरले कोभिड–१९ महामारीको बेला गरेको स्वास्थ्य सामग्री सहयोगको खुलेरै चीनको प्रशंसा गरेका थिए । 

आगामी दिनमा पनि चीनको नाक्छु शहरले समृद्ध टोखा निर्माणका लागि पर्यटन, कृषि र आइटी जस्ता क्षेत्रमा सहयोग गर्नुपर्ने उनले बताए । 

कार्यक्रममा टोखा नगर प्रमुखले नाक्छु शहरका नगर प्रमुखलाई नागरिक अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा नाक्छु शहरका नगर प्रमुख ताजी दोर्जीले टोखाले गरेको न्यानो मायाँको लागि धन्यवाद प्रकट गर्दै आगामी दिनमा भगिनि सम्बन्ध भएका कारण समृद्ध टोखा निर्माणका लागि कृषि, पर्यटन र लघु उद्योगको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

नागरिक अभिनन्दन सकिए लगत्तै आइतबार नै चीनको भ्रमण टोलीले टोखा नगरपालिकाको कार्यालयमा आयोजित एक परिचयात्मक कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा नगर प्रवक्ता बच्चुराज बस्यालले जनप्रतिनिधि र शाखा प्रमुख कर्मचारीहरुको परिचय गरेका थिए । 

टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले टोखा नगरपालिकाको भौगोलिक, सांस्कृतिक लगायतका विशेषता र गर्दै आएको काम र आगामी योजनाबारे जानकारी गराएका थिए । 

त्यस्तै कार्यक्रममा नगर प्रमुख प्रमुख प्रकाश अधिकारीले टोखा भ्रमण गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै नाक्छु शहरका नगर प्रमुख ताजी दोर्जीले भगिनी सम्बन्धलाई अझैँ प्रकाढ बनाउँदै सहयोग आदान–प्रदान गर्ने बताएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise