२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराते प्रतियोगिता सम्पन्न

ADV
मध्यान्ह
२०८१ कार्तिक २६ गते १२:३१
उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराते प्रतियोगिता सम्पन्न

काठमाडौं : नेपाल एकायन कराते संघद्वारा आयोजित दुईदिने प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकासँगको सहकार्यमा आयोजित प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र काठमाडौंमा शनिबार र आइतबार भएको थियो ।

प्रतियोगितामा महिला तथा पुरुषको विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो । महिलातर्फ ३५ केजीमुनि तौल समूहमा रेखा रोकायाले प्रथम स्थान हासिल गरिन् भने साक्षी ढकाल दोस्रो, सुप्रिया केसी तेस्रो र आर्या महर्जन चौथो भए ।

महिलातर्फ नै ४० केजीमुनि तौल समूहमा सिवानी आले मगर प्रथम भइन् । यस्तै आराध्या घिमिरे, प्राष्ना अधिकारी र ऋतु उप्रेती क्रमशः दोस्रो, तेस्रो र चौथो भए । महिलातर्फ नै ४५ केजीमुनि तौल समूहमा कृपा खड्का प्रथम हुँदा आयुषा तामाङ दौस्रो, अन्जना तामाङ तेस्रो र आकृति थापा चौथो भए ।

यस्तै महिलातर्फ नै ५० केजीमुनि तौल समूहमा रेश्मीला राईले प्रथम स्थान हासिल गरिन् । सभ्यता नेपाली, रानी तामाङ र आयुष्मा थापा मगर क्रमशः दोस्रो, तेस्रो र चौथो भए । महिलातर्फ नै ५५ केजीमुनि तौल समूहमा निषा तामाङ प्रथम भइन् । आस्था तामाङ दोस्रो, अन्जिला मगर तेस्रो र आयुषा गुरुङ चौथो भए । त्यस्तै महिला खुला तौल समूहमा अन्जना बुढाथोकी प्रथम हुँदा एलिना थापा दोस्रो, रसिला श्रेष्ठ तेस्रो र मेलिना मगर चौथो भए ।

पुरुषतर्फ २५ केजीमुनि तौल समूहमा अरुण लामाले प्रथम स्थान हासिल गरे । लविन कार्की, आयुष तामाङ र कविर तामाङ क्रमशः दोस्रो, तेस्रो र चौथो भए । यस्तै ३० केजीमुनि तौल समूहमा विवेश जैशी प्रथम हुँदा नरेश रावत दोस्रो, गौरव सुनुवार तेस्रो र रोजिव खत्री चौथो भए ।

पुरुषतर्फ नै ३५ केजीमुनि तौल समूहमा गणेश विष्ट प्रथम भए भने सायन भुजेल दोस्रो, महेन्द्र कार्की तेस्रो र युनिश श्रेष्ठ चौथो भए । यस्तै ४० केजीमुनि तौल समूहमा प्रविन श्रेष्ठ प्रथम भए । साजन नेपाली, निश्चल तामाङ र करण घिसिङ क्रमशः दोस्रो, तेस्रो र चौथो भए ।

पुरुषतर्फ नै ४५ केजीमुनि तौल समूहमा सुवास शाही प्रथम हुँदा समिर बराम दोस्रो, जोन राई तेस्रो र विवेक तामाङ चौथो भए । यस्तै ५० केजीमुनि तौल समूहमा पवन तामाङ प्रथम भए । अनमोल श्रेष्ठ, किशोर न्यौपाने र वसन्त कुमाल क्रमशः दोस्रो, तेस्रो र चौथो भए ।

पुरुषतर्फ नै ५५ केजीमुनि तौल समूहमा विराज मगर प्रथम हुँदा सुवास नेपाली दोस्रो, रवि श्रेष्ठ तेस्रो र प्रविन आले चौथो भए । पुरुष खुला तौल समूहमा भने दिनेश बम प्रथम भए । अभिषेक तामाङ, मनिष राई र विनय तामाङ क्रमशः दोस्रो, तेस्रो र चौथो भए ।

प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ८ गरी कुल १४ वटा तौल समूहमा खेलहरु सञ्चालन भएका थिए । काठमाडौं उपत्यकाभित्रका १२ वटा नगरपालिकाहरुका करिब १९४ जना एकायन कराते खेलाडीहरु सहभागी प्रतियोगिताका विजयी खेलाडीहरुलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नगद पुरस्कार, प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरेकी थिइन् ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद पुरस्कार जनही २० हजार रुपैया, स्वर्ण पदक, प्रमाण पत्र तथा ट्रफी, द्वीतिय हुने खेलाडीले नगद पुरस्कार जनही १२ हजार रुपैयाँ, कांस्य पदक, प्रमाण पत्र तथा ट्रफी र तृतीय हुने खेलाडीले नगद पुरस्कार जनही ७ हजार रुपैयाँ, रजत पदक, प्रमाण पत्र तथा ट्रफी तथा चौथो स्थान हासिल गर्ने खेलाडीले पदक तथा प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी सहभागी सम्पूर्ण खेलाडी तथा खेल पदाधिकारीहरुलाई प्रमाण पत्रबाट सम्मानित गरिएको थियो ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यतामा आयोजित समापन समारोहमा इमेज च्यानलका महाप्रबन्धक  रघुवर भक्त मानन्धर, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी, एनआरएन उपाध्यक्ष  रोजिना प्रधान राईलगायत विशेष अतिथिको रुपमा सहभागी भएका थिए ।

समापन समारोहमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा नेपाल एकायन कराते संघद्वारा आयोजित यस प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आगामी दिनमा पनि एकायन करातेलाई आफू तथा महानगरपालिकाका तर्फबाट अझ बढी सहयोग गर्ने शुभेच्छा व्यक्त गरिन् ।

समापन समारोहका अवसरमा कार्यक्रम संयोजक तथा नेपाल एकायन कराते संघका सल्लाहकार एवम् साउथ एसियन एकायन कराते फेडेरेसनका प्रथम उपाध्यक्ष शशी कपालीले संघका आगामी प्रतियोगिता तथा कार्यक्रमका बारेमा प्रकाश पारे ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले नेपालमा सिर्जित एकायन करातेलाई अझ बढी परिष्कृत र विकास गर्न समितिका तर्फबाट आफूले सक्दो सहयोगन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समापन समारोहका अवसरमा नेपाल एकायन करातेका तर्फबाट काजकिस्तानमा २०२४ जुलाई १५ देखि १९ सम्म सञ्चालित अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिप प्रतियोगिताको इन्क्लाइण्ड बेन्च प्रेस स्पर्धामा प्रथम स्थान हासिल गरी स्वर्ण पदक प्राप्त गर्न सफल भएकोमा केदारेश्वर मान स्थापितलाई दोसल्ला तथा प्रमाणपत्रबाट सम्मानित गरिएको थियो ।

यसअघि प्रतियोगिताको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र काठमाडौंमा शनिबार इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर तथा एभिन्यूज टेलिभिजका महाप्रबन्धक भाष्करराज राजकर्णीकारले संयुक्तरुपमा उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा बोल्दै विशेष अतिथि राजकर्णीकारले नेपाली मार्सल आर्ट एकायन करातेको विकासका लागि नेपालको मिडिया क्षेत्रबाट पर्याप्त सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले विश्वभर छरिएर रहेका नेपालीहरु माझ एकायन करातेलाई परिचित गराइ यस खेललाई विश्वस्तरमा विकास गर्नुपर्ने धारणा राखे ।

उद्घाटन कार्यक्रमका अवसरमा बागमती प्रदेश सरकारका खेलकुद विकास विज्ञ तथा ब्याडमिन्टनका ओलम्पिक रेफ्री एवम् नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापाले खेलकुद विकासको अवधारणा तथा एकायन करातेलाई अन्तर्राष्ट्रियस्तरमा विकास गर्नुपर्ने र यसका लागि सहयोग गर्न आफू अग्रसर रहने धारण व्यक्त गरे ।

प्रतियोगिताको उद्घाटन तथा समापन समारोहका कार्यक्रमको सभापतित्व नेपाल एकायन करातेका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले गरेका थिए । समापन समारोहका अवसर बोल्दै उनले यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण संघ संस्था, व्यक्तिलगायत सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । उनले यस प्रतियोगिताका लागि सहकार्य गरी कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागलाई विशेष धन्यवाद दिँदै कृतज्ञता ज्ञापन गरे ।

अध्यक्ष डंगोलले आगामी दिनमा एकायन करातेलाई अझ बढी परिष्कृत र विकास गर्नका लागि खेलकुद विज्ञहरुसँगको सहकार्य तथा यसको प्रचार प्रसारका लागि नेपाली मिडियाको सहयोगको अझ बढी अपेक्षा रहेको बताए ।

समापन समारोहमा विशेष अतिथि रघुवर भक्त मानन्धर, रोजिना प्रधान राई, नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकारहरु निरोज कर्माचार्य, शंकर महर्जन, रमेश मान मुनिकार, धर्मदेव महर्जन, वीरकृष्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । तथा अतिथिहरु राजन महर्जन, प्रेमनाथ श्रेष्ठ, राजकुमार श्रेष्ठ, प्रेम लामा, प्रविण काजी श्रेष्ठ, केदार मान स्थापितलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितमा निर्णयाधीशमा राजेन्द्र शाक्य, सिर्जन अधिकारी तथा भरत धौलाकोटी, मुख्य निर्णायकमा किशोर तामाङ, विष्णु मान शाक्य र रुपेश मगर रहेका थएि भने निर्णायकहरुमा समसेर लामा, राम तामाङ, शंकर धौलाकोटी, सुरेश धौलाकाटी, बिवेक थापा मगर, सजिन महर्जन, उर्मिला बिश्वकर्मा, हिमाल सागर मनोज राजबहाक, राजेन्द्र तामाङ, श्रीराम राणा, सरोज तामाङ, विवेक बर्देवा, राजु तामाङ, निशु तामाङ र नारायण लामा रहेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise