२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

कवि केशव सिलवाल सम्मानित

ADV
मध्यान्ह
२०८१ कार्तिक २६ गते २१:१९
कवि केशव सिलवाल सम्मानित

सुनसरी : प्रगतिवादी कवि केशव सिलवाल सम्मानित भएका छन् । अखिल नेपाल लेखक संघ एक नम्बर प्रदेश समितिले कवि सिलवालको एकल कविता वाचन र प्रतिनिधिमूलक कविता गोष्ठी सुनसरीस्थित विमल स्मृति पुस्तकालय, बुद्धचोक, धरान–१८ मा सम्पन्न गरेको हो । 

उक्त कार्यक्रमको पहिलो सत्रमा प्रगतिवादी कवि सिलवालको एकल कविता वाचन र दोस्रो सत्रमा प्रतिनिधिमूलक कविता गोष्ठी गरिएको थियो ।

वरिष्ठ सौन्दर्य चिन्तक, माक्सवादी विद्वान, जनसांस्कृतिक महासंघ नेपालका इन्चार्ज तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गरेका थिए । प्रमुख अतिथि ज्ञवालीले भने, ‘साहित्य, कला र संस्कृति देश र जनताको हितमा हुनुपर्छ । यसले चाहिँ जनताको सेवा गर्नुपर्छ । जनताका यावत जीविकाका समस्यालाई देखाउने, जनताका सत्रुहरूको भण्डाफोर गर्ने र देश र जनतालाई परिवर्तन र मुक्तिको दिशाबोध गराउने काम प्रगतिवादी साहित्यले गर्नुपर्छ । प्रगतिशील र प्रगतिवादी साहित्यमा भिन्नता छ ।’

प्रगतिशील साहित्यले यथार्थको आलोचना ,क्रान्ति र परिवर्तनको आकांक्षा र विद्रोहको भावलाई व्यक्त गर्छ।तर प्रगतिवादी साहित्यले क्रान्ति र परिवर्तनको बाटो त्यसको उद्देश्य र क्रान्तिको विधि र प्रक्रिया समेत देखाउँछ र साहित्यकारहरूले विचारअनुसार व्यवहारमा पनि संलग्न हुनुपर्छ भन्छ ।साहित्य र कलाको भूमिका क्रान्तिमा महत्वपूर्ण हुन्छ ।

यसले मेसिनको दाती र पेचकिलाको भूमिका खेल्नुपर्छ भनेर लेनिनले भनेका कुरालाई थप व्याख्या गर्नु भएको थियोे । साथै, हामी सम्पूर्ण संस्कृतिकर्मीहरू देश, जनता र गरिब वर्गको पक्षमा उभिनु आवश्यक रहेको बताउँदै उनले प्रगतिवादी साहित्यबारे गहन र प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए । 

उनले प्रगतिवादी कवि सिलवाल जनताका पक्षमा कविता रच्न सक्षम कवि रहेको चर्चा गर्दै वाचित प्रतिनिधिमूलक कवितामाथि समेत आफ्नो धारणा राखेका थिए । कार्यक्रमका विशिष्ट अतिथि एवम् जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष भीम कुमाखीले केशव सिलवाल वर्तमान समयका अब्बल कवि रहेको चित्रण गर्दै हरेक विकृति र विसङ्गतिविरुद्ध प्रत्येक कविहरू जागृत हुनुपर्ने बताएका थिए । 

त्रिभुवन विश्वविद्यालयमा अध्यापन पेसामा संलग्न जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय महासचिव सिलवाललाई प्रगतिवादी कविता लेखन क्षेत्रका प्रतिनिधिमूलक प्रतिभाका रूपमा चित्रण गरिएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका सिलवालले कविता लेखनका लागि उच्च साधनाको जरुरत पर्छ । अनि मात्रै कविताले मानिसको मनमस्तिष्क छुन सक्छ भन्ने धारणा राख्दै चिबेचरा,ङा चेपाङ,कमरेड स्याउला, तुइनमा उल्टो झुन्डिएर,जुत्ता र क्रान्ति, यो देश मेरो होइन रहेछ जस्ता ६वटा कविता बाचन गरेका थिए । 

ललितपुर लेलेमा २०३० सालमा जन्मिएका कवि केशव सिलवालका ‘बर्जित अवशेष,’असहमतिका स्वरहरू’ सं.,’धारिला मानिसहरू’ र ‘चिबे चरा’ जस्ता कविताकृति प्रकाशित भइसकेका छन्। 

कवि सिलवाल उक्त कार्यक्रममा सम्मानित समेत भएका थिए । कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञसभा सदस्य जनसांस्कृतिक महासंघ नेपाल केन्द्रीय सचिवालय सदस्य, जनसांस्कृतिक महासंघ नेपाल एक नम्बर प्रदेशका अध्यक्ष चेतनाथ धमलाले कवि सिलवालका वाचित कवितामाथि टिप्पणी गरेका थिए ।

प्राज्ञ धमलाका अनुसार कवि सिलवालका कविता सरल ,सटीक र बोधगम्य रहेका छन् । कविताले भुईँ मान्छेका कथा–व्यथालाई आत्मसात् गर्नुका साथै संरचनागत रूपमा कविताको लेखनशैली निक्कै प्रभावशाली रहेको बताउँदै सामाजिक यथार्थवादका पक्षलाई आत्मसात् गरेको बताएका थिए । 

शोषण,दमन,उत्पीडन र उपेक्षामा परेका मानिसका बारेमा कवितासिर्जना गर्न खप्पिस कवि सिलवालले युगसापेक्ष कवितामा वर्गीय र सौन्दर्यचेतनालाई सटीक रूपमा उतारेकालेअब्बल प्रतिनिधि कविको रूपमा चित्रित भएको बताए । कार्यक्रममा जनसांस्कृतिक महासंघका केन्द्रीय सचिव तथा एक नम्बर प्रदेश इन्चार्ज अनुसा राईको विशिष्ट आतिथ्यता रहेको थियोे।कार्यक्रमका अतिथि प्रा.डा.खेमनाथ दाहाल,अम्बिका शाक्य र सिद्धिकर्ण शर्माले कविता वाचन गरेका थिए । अतिथि गायिका अम्बिका दवाडीले गीत प्रस्तुत गरेकी थिइन् । 

नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग सदस्य राम खरेल, राधिका कार्की,टीका मिलन, महेश श्रेष्ठ, दीपक पराजुली, टेकनाथ घिमिरे, राजन निरौला, चन्द्रबहादुर सुवेदी, मनि राई गोठाले, महेश श्रेष्ठ, सानू कोविद, इन्द्रसुर बेल्टारे र युवराज घले लगायतले कविता वाचन गरेका थिए । साथै वीपी कोइरालाले लघुकथा वाचन गरेका थिए । कार्यक्रममा शकुल भुसाल, तुलसी गेलाल, खड्गप्रसाद खनाल, जमुना श्रेष्ठ, पदम ढकाल, बाबुराम श्रेष्ठ, प्रकाश दिप्साली राई, पुष्प ढुंगाना, शोभा मिश्र खनाल, कमल आचार्य र अनूदित खनाल लगायतका कवि, लेखक र श्रोताहरूको उपस्थिति रहेको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य ,अखिल नेपाल लेखक संघका केन्द्रीय सचिव तथा अखिल नेपाल लेखक संघ एक नम्बर प्रदेश समितिका अध्यक्ष प्राडा खेमराज खनालको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

प्राज्ञ खनालले हाम्रा यस्ता कार्यक्रमबाट प्रगतिवादी साहित्यको उन्नायन हुनका साथै स्रष्टाहरूको मनोबल बढेर जाने कुरामा जोड दिँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गरेका थिए । 

अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य एवम् अखिल नेपाल लेखक संघका उपाध्यक्ष विमला पोखरेलले कविता वाचनसहित कार्यक्रम सञ्चालन र सचिव सुधीर केसीले कवितावाचनसहित स्वागत मन्तव्य राखेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise