२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

कान्ति बाल अस्पतालमा काठमाडौं महानगरले मोडुलर अपरेसन थियटर निर्माण गरिदिने

ADV
मध्यान्ह
२०८१ कार्तिक २७ गते ११:५५
कान्ति बाल अस्पतालमा काठमाडौं महानगरले मोडुलर अपरेसन थियटर निर्माण गरिदिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने भएको छ । सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र अस्पतालका निर्देशक पंकज रायले निर्माण तथा उपकरण जडानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । 

आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सरल, सहज, पारदर्शी र पहुँचयोग्य बनाउन आन्तरिक क्षमतासँगै अन्य सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन सहकार्य गरिएको हो । चालु आर्थिक वर्षमा कान्ति बाल अस्पतालसँगको सहकार्यका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरवासीको सरल पहुँचमा स्वास्थ्य सेवा विस्तारसँगै समय समयमा आउने विश्वव्यापी महामारीका जोखिमको प्रतिकार्य, रोकथाम र पुनःस्थापनाका लागि समन्वयात्मक काम गर्नु सम्झौताको उद्देश्य हो ।

सम्झौताबमोजिम अस्पतालले मोडुलर ओटी बनाउन लागतअनुमान तयार पार्नेछ । सम्झौतामा उल्लेख भएको ५ करोड ५० लाख रुपैयाँभन्दा धेरै लागत आएमा त्यसको दायित्व अस्पतालकै हुनेछ । लागत र ड्रइङ डिजाइनका आधारमा खुला बोलपत्र आह्वान गर्ने, मूल्यांकन गर्ने, निर्माण पक्ष छनोट गर्ने र निर्माण कार्य गराउने दायित्व अस्पतालको हुनेछ । महानगरपालिकाले प्रगतिका आधारमा बढीमा ३ किस्तामा सम्झौताबमोजिमको रकम उपलब्ध गराउनेछ । यसरी रकम उपलब्ध गराउँदा नेपाल सरकार वा अन्य निकायबाट प्राप्त रकमसँग दोहोरो नहुने सुनिश्चित गर्नेछ । यसरी उपलब्ध गराएको रकमबाट निर्माण हुने संरचनाको अनुगमन गर्नेछ । 

अस्पतालले आयोजनाको पारदर्शिताका लागि सूचना बोर्ड राख्नुपर्नेछ । निर्माणका लागि अन्य निकायबाट अनुदान वा सहयोग रकम उपलब्ध भएमा त्यसको विवरण महानगरपालिकामा बुझाउनुपर्नेछ । प्रचलित पद्धतिको पालना गरेर वेरुजु नहुने गरी काम गर्नु पर्नेछ । यसबाट कुनै प्रकारको बेरुजु देखिए यसलाई फस्र्योट गर्ने दायित्व अस्पतालकै हुनेछ । यस्तै अन्तिम लेखा परीक्षण गराएर रकम उपयोगलाई चुस्त बनाउनुपर्नेछ ।

निर्माण तथा उपकरण जडान कार्य २०८२ ज्येष्ठ मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ । हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले, महानगरवासीप्रति महानगरपालिकाले पूरा गर्नुपर्ने स्वास्थ्य सेवाको पहुँचसम्बन्धी दायित्व पूरा गरिएको बताए । यस्तै स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले, बाल रोगको उपचारका लागि महानगरबासीले विशेष सहुलियत प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise