२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीले बुझाए १० बुँदे ज्ञापनपत्र

ADV
मध्यान्ह
२०८१ कार्तिक २८ गते १२:४१
प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीले बुझाए १० बुँदे ज्ञापनपत्र

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा कर्णालीको दुरावस्थामा सुधार ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

शाहीले संविधान जारी भएको दशक बितिसक्दा पनि कर्णालीले स्वास्थ्य, शिक्षा, कृषि, र पूर्वाधारमा आवश्यक सुधार र प्रगति नदेखेको भन्दै राज्यको ध्यानाकर्षण गराएका हुन् ।

शाहीले कर्णालीमा अहिले पनि न्यूनस्तरको जीवनयापन भइरहेको र राज्यले स्थानीय आवश्यकताअनुसार सुधारका कार्यक्रमहरू अघि नबढाएको उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा जुम्ला लगायत कर्णाली क्षेत्रको कृषि र विशेष गरी स्याउ उत्पादनलाई प्राथमिकतामा राखेर कृषकलाई सशक्त बनाउन र आर्थिक लाभ दिन व्यवस्था गर्न आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा आत्मनिर्भर कृषि उत्पादन, स्वदेशी फलफूल र तरकारी उत्पादनलाई आधुनिकीकरण गर्दै साना तथा ठूला किसानलाई आर्थिक रूपमा सबल बनाउन सरकारी विधेयक ल्याउन आग्रह गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदहरूमा योग्यता आधारित नियुक्ति हुनुपर्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदहरूमा राजनीतिक नियुक्तिको सट्टा योग्य व्यक्तिहरू नियुक्त गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा प्रमुख मागहरू यस प्रकार छन्:

१. आत्मनिर्भर कृषि उत्पादन : स्वदेशी फलफूल र तरकारी उत्पादनलाई आधुनिकीकरण गर्दै साना तथा ठूला किसानलाई आर्थिक रूपमा सबल बनाउन सरकारी विधेयक ल्याउन आग्रह गरिएको छ ।

२. प्रतिष्ठानका पदहरूमा योग्यता आधारित नियुक्ति : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदहरूमा राजनीतिक नियुक्तिको सट्टा योग्य व्यक्तिहरू नियुक्त गर्न माग ।

३. कर्मचारीको व्यवस्थापन र तलब-भत्ता सुधार : लामो समयदेखि तलब-भत्तामा अनियमितता भोग्दै आएका स्थायी शिक्षक तथा कर्मचारीहरूको व्यवस्थापन गर्दै अनावश्यक राजनीतिक नियुक्ति रोक्न माग ।

४. डायलासिस मेसिनको संचालन : दक्ष जनशक्तिको अभावमा सञ्चालनमा नआएको डायलासिस मेसिनलाई तत्काल सञ्चालनमा ल्याउन ।

५. प्राध्यापक र सहप्राध्यापकको नियुक्ति : अस्पताल सेवा र शैक्षिक कार्यक्रममा अवरोध नहोस् भनी प्राध्यापक र सहप्राध्यापक पदमा शीघ्र नियुक्ति गरियोस् ।

६. शिक्षक, विद्यार्थी आवास र स्वास्थ्य उपकरणको बजेट : एमआरआई मेसिन लगायत अन्य स्वास्थ्य उपकरण खरिदका लागि बजेटको व्यवस्था गरियोस् ।

७. स्याउ कर्पोरेसनको स्थापना : जुम्लामा उत्पादन भएको स्याउ उचित मूल्यमा खरिद गरी बजार व्यवस्थापन गर्ने स्याउ कर्पोरेसनको स्थापनाको माग ।

८. फलफूल विकास कार्यालय स्थापना : स्याउ र ओखर लगायत फलफूलको उत्पादन बढाउन विज्ञहरूको दरबन्दी राखेर छुट्टै फलफूल विकास कार्यालय स्थापना गरियोस् ।

९. कर्णाली प्राविधिक शिक्षालयको स्तरोन्नति : फलफूल, जडिबुटी र बन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालयलाई थप बजेटको व्यवस्थासहित स्तरोन्नति गरियोस् ।

१०.  कर्णाली राजमार्ग र वैकल्पिक सडक स्तरोन्नति : कर्णाली राजमार्ग तथा वैकल्पिक सुर्खेत-दैलेख-नाग्मा सडकको स्तरोन्नति तथा मर्मत गरियोस् ।

ADVADV

सम्बन्धित खबर

Advertise