२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरिनेछ : प्रधानमन्त्री

Nada
२०८१ कार्तिक २८ गते १४:२९
Shares
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरिनेछ : प्रधानमन्त्री

जुम्ला : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन् ।

ncell

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कूलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गरे । उनले राकम कर्णालीमा सय शैय्याको अस्पताल बनाउने प्रक्रिया शुरु भइसकेको अवगत गराए ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक सेवा, सुविधा उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको समेत बताए । प्रतिष्ठानको परिकल्पनादेखि आफू जानकार रहेको र चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भइ पहिलो दीक्षान्तसम्म आइपुगेकोमा खुसी व्यक्त गर्दै उनले दीक्षित विद्यार्थीहरुलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ-नयाँ कीर्तिमान कायम गर्न शुभकामना दिए ।

“अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईंहरुको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ । यस सफलतालाई दूरदराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुहोस्,’’ दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीको आग्रह थियो, “म खुसी व्यक्त गर्न चाहान्छुु, कर्णाली अगाडि बढ्दैछ । कर्णाली र सुदूरपश्चिमका समेत गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो । अब यसलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो ।’’ 

संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहेको समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ३० जना विद्यार्थी दीक्षित भएका छन् । समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायत सहभागी थिए ।

सम्बन्धित खबर