काठमाडौं : कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा आफूलाई पत्यक्षदर्शी दाबी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।
प्राइम टाइम टेलिभिजनमा ऋषि धमलासँग अन्तर्वार्ता दिँदै उनले निर्मला पन्त बलात्कार घटनाको आफू प्रत्यक्षदर्शी रहेको र सुरक्षाको ग्यारेन्टी दिए पीडकहरूको नामसमेत बताइदिने दाबी गरेका थिए ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुटो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाइ छ ।