२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता तथा कार्यकतालाई अध्यक्ष दाहालको निर्देशन

Nada
२०८१ कार्तिक २८ गते १७:२५
Shares
आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता तथा कार्यकतालाई अध्यक्ष दाहालको निर्देशन

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी नेतृत्वका सरकारले अघि बढाएका सकारात्मक कामलाई जनतासमक्ष पुर्‍याउन आग्रह गरे ।

ncell

‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौँ’, अध्यक्ष दाहालले भने, ‘हामी बदलिन चाहन्छौँ, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस् ।’ सरकारमा भएकोमा बेला माओवादीले हरेकपटक रुपान्तरणकारी काम गरेको दाबी गर्दै उनले पार्टीले पूरा गर्न नसकेका काम सम्पन्न गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे ।

कीर्तिपुर क्षेत्र इतिहासदेखि नै वीरता र विद्रोहको केन्द्र भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यहाँको इतिहास, वीरता र विद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक छ । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कीर्तिमान कायम गर्ने छ ।’

इमान्दार, सरल, पारदर्शी एवं भाषा संस्कृतिका संरक्षक तथा कीर्तिपुरका सामाजिक व्यक्तित्वका रुपमा स्थापित प्राडा शिवशरण महर्जनलाई पार्टीले नगरप्रमुखको उम्मेदवार बनाएको अध्यक्ष दाहालले स्पष्ट पारे । विभिन्न जातजातिको सङ्गम बन्दै गएको भए पनि कीर्तिपुरको मूल पहिचान नेवारी समुदाय र नेवाः सभ्यता भएको उल्लेख गर्दै उनले त्यसलाई सफल नेतृत्व प्राडा महर्जनले मात्रै गर्न सक्ने बताए ।

‘सांस्कृतिक वैभव यहाँको पूँजी र पहिचान हो’, अध्यक्ष दाहालले भने, ‘त्यसलाई थप स्थापित गर्दै कीर्तिपुरलाई देशभरिकै नमूना सांस्कृतिक नगर बनाउन प्राज्ञिक व्यक्तित्व महर्जनले मात्रै सक्नुहुन्छ भन्ने यहाँका मतदाताले राम्रोसँग बुझ्दै गएका छन्, त्यसैले उहाँको जीत निश्चित छ ।’

सम्बन्धित खबर