रियाद : साउदी अरेबियास्थित नेपाली दूतावासले अमर्यादित पहिरन लगाएर तडकभडक नगर्न वैदेशिक रोजगारीसहित त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ । मदिरा पिउने, चुरोट सेवन गर्ने, सुनको सिक्री, ब्रास्लेट र हाफपाइन्ट लगाएर हिँड्ने केही नेपाली जरिवानामा परेको सार्वजनिक भएपछि नेपाली दूतावासले सार्वजनिक मर्यादा र शिष्टाचारसम्बन्धी पहिरन तथा आचरण प्रदर्शन गर्नेसम्बन्धी जरूरी सूचना नै सार्वजनिक गरेर उक्त आग्रह गरेको हो ।
खुला परिवेशमा हुर्केर वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले सार्वजनिक स्थलमा जाँदा नेपालमा जस्तै आफूखुसी पहिरन लगाउने, असभ्य व्यवहार र अनुशासनहीन गतिविधिहरू गर्ने क्रममा वृद्धि भएको बताइएको छ । कतिपय युवाले शरीरका विभिन्न भागमा अरेबियन संस्कृतिविपरीत अर्थ लाग्ने आकृतिका ट्याटुसमेत खोप्ने गरेको बताइएको छ ।
नेपाली दूतावासले साउदी कानूनअनुसार सार्वजनिक स्थानमा हाफपाइन्ट लगाएर हिँड्न, प्रार्थना समयमा ठूलो आवाजमा संगीत बजाउन प्रतिबन्ध गरिएको जनाएको छ । साउदीमा सार्वजनिक स्थानमा आउने सबैले नम्र लुगा लगाउनुपर्ने, सामान्य शिष्टता उल्लंघन गर्ने फोटो, चित्र, चिह्न वा वाक्यांशहरू भएको पोसाक लगाउन नहुने प्रावधान छ । महिलालाई आफ्नो खुट्टाको कम्तीमा घुँडा र काँध देखिने पहिरन र जीन्स लगाउन प्रतिबन्ध छ । साउदीमा छालाको जति धेरै भाग छोपियो त्यति धेरै सभ्य मानिन्छ ।
साउदीमा पुरुषहरूले टी–सर्ट लगाउन सक्ने भएपनि स्लिभलेस अर्थात बाहुला नभएको सर्टलाई अझै पनि नकारात्मकरूपमा हेर्ने गरिएको छ । थोब नामको स्थानीय पोसाक लगाउने आप्रवासीलाई साउदीमा प्रशंसा गर्ने गरिएको छ ।
दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘साउदी अरबको नियम र कानून उल्लंघन हुने गरी सार्वजनिक स्थलमा फोटो खिच्ने, सामाजिक सञ्जालमा लाइभ वा पोस्ट गर्ने जस्ता कार्यहरू गर्दा कडा कानूनी कारबाहीको सामना गर्नुपर्ने हुनसक्छ ।’ दूतावासले यस्ता गतिविधिले साउदी समाजमा गलत प्रभाव पार्ने भएकाले सजग रहन आग्रह गरेको छ ।
दूतावासले सबै नेपालीलाई सामाजिक मर्यादा र शिष्टाचार कायम गर्दै सार्वजनिक स्थलमा उच्च सतर्कता नअपनाइ स्थानीय धर्म, संस्कृतिविपरीतका कार्य, यौनजन्य गलत व्यवहार देखाएमा वा ट्राफिक नियम उलंघन गरेमा ठूलो जरिवाना हुने भएकाले सचेत हुन आग्रह गरेको छ ।