२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

हवाई भाडादर वृद्धिले बालुवाटार, बालकोट र बुढानीलकण्ठलाई किन छोएन ?– प्रभु साह

ADV
मध्यान्ह
२०८१ कार्तिक २९ गते १३:५४
हवाई भाडादर वृद्धिले बालुवाटार, बालकोट र बुढानीलकण्ठलाई किन छोएन ?– प्रभु साह

काठमाडौं : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार भूमिकाका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेको बताएका छन् । हालै हवाई भाडामा भएको मनपरी वृद्धिले अर्थतन्त्रमा ठूलो नाकारात्मक असर पर्ने उनले जनाएका छन् । 

नेपालको विकास र अर्थतन्त्रको मुख्य आधार मानिएको पर्यटन क्षेत्र यतिवेला ओली सरकारले ध्वस्त बनाएको गम्भीर आरोप साहले लगाए । सरकारले कमिशन खानैका लागि हवाई भाडामा मनपरी वृद्धि भए पनि मौन बसेको बताए ।

सामाजिक सञ्जाल फेसबुक पेजमा आजपा अध्यक्ष साहले लेखेका छन्, ‘नेपालमा जे पनि गर्ने छुटले अराजकता एवम् अन्यौलता बढ्दैछ । सरकारको गैरजिम्मेवार भूमिकाले सिंगै पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेको सन्दर्भमा हवाई भाडामा भएको मनपरी वृद्धले अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्ने पक्का छ ।’

अन्तर्राष्ट्रिय उडानको हवाई भाडामा भएको मनपरी वृद्धिलाई सरकारले नियन्त्रण गर्नुको सट्टा उल्टै जनतालाई भ्रमित गरिरहेको आरोप उनले लगाएका छन् । कमिशनको चक्करमा जे पनि गर्ने ओली सरकारको कुकर्मले आज विदेश जाने नेपाली श्रमिकहरू ठूलो आर्थिक मारमा परेको साहले जनाएका छन् ।

‘अहिले पर्यटन क्षेत्र मरणासन्न अवस्थामा छ भन्दा अतियुक्ति नहोला । राज्य नियन्त्रित सिण्डिकेट र सरकारमा भएकाहरुकै हालिमुहाली र ब्रम्हलुटकै कारण यो क्षेत्रले विगत लामो समयदेखि बदनामी र बेथिति भोग्नु परेको छ । अहिले हवाई भाडादर दोब्बर तेब्बर बनाइएको समाचार छन् । नेपाली श्रमिकहरु हवाई भाडादरमा भएको मनोमानी वृद्धिको कारण ठूलो मारमा परेका छन् । तर यो सरकारलाई यसबारेमा कुनै चिन्ता र चासो नै छैन,’ आजपा अध्यक्ष साहले भने । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द गर्ने बहानामा फेरि नेपाली श्रमिकहरु र विदेशी पर्यटकहरुमाथि हवाई भाडा बढाएर लुट्ने काम भइराख्दा समेत सरकार रमिते बनेको आरोप साहले लगाएका छन् । ‘चौतर्फी आलोचना हुँदासमेत यो सरकारलाई छोएन । विश्वमा कहीँ नभएको हवाई आतंक नेपालमा मात्रै किन बारम्बार दोहोरिने गरेको छ ? यो प्रश्नको विषय हो । नियमनकारी निकाय किन सुतेर बसेका छन् ? कतै हवाई क्षेत्रमा भएको लुटको अंश बालुवाटार र सत्ताको चाबी लिएकाहरुको घरसम्म त पुगेको छैन ? अब यो विषय शंकाको घेराभित्र परिसकेको छ’ प्रश्न गर्दै उनले भनेका छन् । 

हिजो नेपालबाट दिल्लीको उडान गर्दा १२ देखि १४ हजार लागने हवाई भाडा आज ६० देखि ६५ हजार भएको छ । कतारको ३० देखि ३५ हजारबाट एक लाख भएकोछ । दुबईको ३५ देखि ४० हजारबाट १ लाख १५ देखि २० हजारसम्म पुग्दा समेत सरकार किन मनोमानी हवाई भाडा वृद्धि रोक्न नसकेको भन्दै साहले प्रश्न गरेका छन् । हवाई भाडामा भएको मनपरी वृद्धि रोकन सरकारी निकायको अस्वाभाविक भूमिकाको विरोध गर्दै हवाई भाडा घटाउन चौतर्फी दबाब सिर्जना गर्न उनले आह्वान गरेका छन् । 

‘कोभिडको कहर होस् वा मुलुक विपत्तिमा परेर सडकमार्ग अवरुद्ध भएको बेलामा नै किन नहोस् या महाभूकम्पको बेलामा होस् नेपाली जनताले हवाई यात्रामा कठिनाइ र महँगीको सामना गर्नुपरेको इतिहास छ । कोरोनाको कहरमा चाटर्ड फ्लाइटमा लुट मच्चाउने काम भयो । त्यतिबेला आफ्नो देश फर्कने नेपालीहरुमाथि विशेषगरि खाँडी मुलुकमा श्रमका लागि गएका नेपालीहरुलाई दिनदाहाडै लुट्ने काम भएको थियो । त्यो क्रम अहिलेसम्मपनि जारी छ,’ उनले भने ।

उनले अगाडि थपे, ‘अहिले पनि हवाई भाडादर वृद्धिले बालुवाटार, बालकोट र बुढानीलकण्ठलाई छोएको छैन । नेताजीहरुका ति दरबारमा हाईसञ्चो छ । सरकार टिकाउने नाममा उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रहसन जारी छ । तर कांग्रेस र एमालेलाई यो हवाई भाडामा भएको ज्यादति र मूल्यवृद्धिको आतंकले छोएको छैन र छुँदै पनि होला । उहाँहरुको आत्मामा व्यापारीले डेरा जमाएका छन् । जनताको सास्तीलाई बेवास्ता गरिएको छ ।’ 

सरकारलाई हवाई क्षेत्रको विकृति हटाउने विषयमा गम्भीर बन्न उनले आग्रह गरेका छन् । हवाई भाडादर महँगो बनाउने एयरलाइन्सहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै आजपा अध्यक्ष साहले पछिल्लो समय हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला निकायबीच भएको पाँच बुँदे सहमतिको पूर्ण पालना गर्नुपर्ने बताए । अहिले नेपालीहरु चाडपर्व सकेर आफ्नो श्रम गन्तव्यमा जाने सिजन छ । साथै, विदेशी पर्यटकहरु पनि नेपाल घुम्नको लागि आउने सिजन हो । यस्तो पर्यटनको पिक–आवरमा हवाई भाडा बढाउने कुरा कुनैपनि हिसाबले स्वीकार्य हुँदैन, सरकारले बेलैमा सोच्नुपर्ने उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise