२०८१ मंसिर १८ गते मङ्गलवार / Dec 03 , 2024 , Tuesday
२०८१ मंसिर १८ गते मङ्गलवार

रविसँग २४ घण्टे बयान

७० भन्दा बढी लिखित प्रश्न सोधिए, लामिछानेद्वारा सबै आरोप अस्वीकार

ADV
अस्मिता बम
२०८१ कार्तिक ३० गते ०८:०२
रविसँग २४ घण्टे बयान

काठमाडौं : रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । तीन दिन अगाडि गत मंगलबार बयानका लागि लामिछानेलाई कास्कीबाट रुपन्देही लगिएको थियो । बिहीबारसम्म रविसँग रुपन्देहीमा २४ घण्टा बयान लिइएको छ । बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको आरोप लामिछानको बयान लिइएको हो । लामिछानेसंग ७० भन्दा बढी लिखित प्रश्न सोधिएको थियो । सबै प्रश्न र आरोपमा लामिछानेले इन्कारी बयान दिएका छन् ।

बिहीबार बयान सकिएता पनि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार मात्रै कास्कीको पोखरा पठाउने भएको छ । लामिछाने यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । कास्की जिल्ला अदालतको आदेशमा कास्की प्रहरीले उनीसहित १४ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी गरेको थियो । कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका थिए । लामिछानेविरुद्ध रुपन्देहीमा पनि उजुरी थियो । उजुरीका आधारमा बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको आरोप पक्राउ पुर्जी जारी भएको थियो । यसकारण लामिछानेको रुपन्देहीमा पनि बयान लिइएको हो । 

विभिन्न सहकारीको रकम जीबी राईसँग मिलेर अपचलन गरेको आरोपमा लामिछानेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । पूर्वगृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रवि लामिछानेसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविराज जोशी र लिला पसाईंलाई पनि पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । यसअघि गोर्खा मिडियाका पूर्वसञ्चालक छविराज जोशीसँग पनि रुपन्देहीमा बयान लिइएको थियो । रवि लामिछाने र छविराज जोशी दुवैको लिखित बयानका आधारमा पूरक प्रतिवेदन बनाउने तयारी छ । जीबी राई जोडिएको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दा लामिछाने गृहमन्त्री रहेकै अदालतमा दर्ता भएको थियो । 

त्यसबेला इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरिएको थियो । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गरिएको छ । तर त्यतिबेला रवि भने प्रतिवादी थिएनन् ।

संसदीय विशेष छानबिन समितिले सुप्रिम सहकारीको रकम समेत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको भन्दै रविसहितका व्यक्तिलाई कारबाही सिफारिस गर्दै ३१ भदौमा प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनपछि सुप्रिम सहकारीमा पनि पूरक अभियोजन बनाएर मुद्दा लैजाने तयारी रुपन्देही प्रहरीले गरेको हो । सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको भेटिएको थियो । उक्त रकममध्ये करिब २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको भेटिएको थियो । 

जीबी राई समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगञ्ज लगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको थियो । सहकारीको रकम अपचलनमा प्रत्यक्ष रुपमा लामिछाने नजोडिए पनि अपचलन भएर आएको रकम खर्च गर्ने काममा भने लामिछानेको समेत संलग्नता देखिएको संसदीय समितिले औंल्याएको थियो । सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेमाथि संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान चलिरहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise