काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको बताएका छन् । उनले दाउपेच ,राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह समेत गरेका छन् ।
मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेताज्युहरूले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईँहरूले पुरै देशनै बेच्नुभो भने पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ ।’
उनले चुनावअघि काठमाडौँको फोहोरसम्बन्धी धेरै कुरा गरेको बताउँदै भनेका छन्, ‘चुनाव पहिले काठमाडौँको फोहोरसम्बन्धी धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भएपछि त्यही अनुसार हामीले धेरै विकल्पहरू हेर्यौँ । धेरै देशको व्यवस्थापन हेर्यौँ । पुराना, नयाँ प्रविधि हेर्यौँ । नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ ।’
आफ्नो योजना कार्यान्वयनतिर लाग्दा विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भएको उनको भनाइ छ । । नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गरेको र सो कम्पनीलाई राज्यले संरक्षण गरेको उनको आरोप छ ।