काठमाडौं : काठमाडौं कमलपोखरीस्थित जैन भवनमा जैन भजन साँझ सम्पन्न भएको छ । आचार्य श्री महाश्रमणको प्रबुद्ध सुशिष्यमुनी रमेशकुमार र मुनी रत्नकुमारको सानिध्यमा जैन भजन साँझ सम्पन्न भएको हो । श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिर समिति र जिनेन्द्र आराधना संस्था शाखा नेपालको संयुक्त आयोजनामा भजन साँझ सम्पन्न भएको हो ।
भजन साँझमा भारतको राजस्थानका लोकप्रिय गायक, भ्वाइस अफ राजस्थान सञ्जय रायजादाले जैन भजन र सुमधुर गीतहरुको प्रस्तुतिमार्फत उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको दिगम्बर जैन मन्दिर काठमाडौंका अध्यक्ष सुभाष जैन सेठीले जानकारी दिए । उनको प्रस्तुतिमा सबैले साथ दिँदै ताली बजाएर मनोरञ्जन लिएको अध्यक्ष सेठीले बताए । गायक रायजादालाई अध्यक्ष सेठी र नेपाल जैन रत्न श्री सुमेरमल नाहटाले मायाको चिनो प्रदान गरेका थिए ।
जैन महिला मण्डलका महिलाहरुले उद्घाटन गरेको कार्यक्रममा गायक रायजादा र उनकी श्रीमती अनिता रायजादालाई तिलक, माला र दोसल्लाले सम्मानका साथ स्वागत गरिएको थियो । सोक्रममा अध्यक्ष सेठीले गायक रायजादाको जीवनका बारेमा संक्षिप्त परिचय दिएका थिए । यस्तै कार्यक्रममा उपस्थित अतिथिहरुलाई दोसल्ला ओढाएर स्वागत गरिएको थियो ।
कार्यक्रममा मुनी रमेशकुमारले संगीतले जीवनमा ठूलो आनन्दको अनुभूति गराउने बताउँदै संगीतको सुमधुर लहरले हरेक मानिसलाई आफूतर्फ आकर्षित गर्ने बताए ।
तेरापन्थ महिला मण्डलकी महासचिव सुनिता सेठियाले सञ्चालन गरेको कार्यक्रममा मन्दिर समितिका महासचिव राजेश कुमार जैनले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा सम्पूर्ण जैन समाजका साथै मन्दिर समितिका पदाधिकारीहरु, सदस्यलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा मुनी रमेशकुमारले मंगल पाठ वाचन गरेका थिए भने कार्यक्रमको समापन मञ्च निर्देशक सुनिता सेठियाले गरेकी थिइन् ।