दोहा, कतार : परियार मित्रता समाज कतारको आयोजनामा "बृहत् रक्तदान कार्यक्रम" सम्पन्न भएको छ । नेपाली रक्तदाता संघ कतारको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममार्फत ४१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक बालन परियारले जानकारी दिए ।
शुक्रबार कतारको हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । समाजले रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्रले सम्मान गरेको थियो । रक्तदान जस्तो पुण्य कार्यलाई भव्यरूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई समाजका अध्यक्ष सुमन परियारले आभार व्यक्त गरे । उनले समाजले पहिलो पटक आयोजना गरेको कार्यक्रममा एक सय जना भन्दा बढीले सहभागिता जनाएको बताउँदै भविष्यमा पनि मानवीय पुण्यका यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताए ।
बिहान ८ बजेदेखि मध्याह्नसम्म चलेको कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक, सामुदायिक तथा वैचारिक संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, पत्रकारहरूको उपस्थिति रहेको थियो ।