सिरहा : सिरहाको औरही गाउँपालिका–५ की राधादेवी दासले जन्माएको नवजात शिशुको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएपछि यस घटनाले गम्भीर मोड लिएको छ । शिशुको मृत्युपछि राधादेवीको माइती पक्षले घटना शंकास्पद भएको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेपछि प्रहरीले गम्भीर अनुसन्धान थालनी गरेको छ ।
प्रहरीले मंगलबार सिरहाको गागन खोलामा गाडिएको शिशुको शव उत्खनन् गरी पोष्टमार्टमका लागि राम कुमार स्मार्ग अस्पताल, लहान पठाएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द प्रसाद साहले भने, ‘हालसम्म माइतीपक्षबाट औपचारिक जाहेरी भने पाएको छैन, तर घटनामा शंका व्यक्त गरेपछि हामीले अनुसन्धान सुरु गरेका छौँ।’
सिरहाको प्रादेशिक अस्पतालले गम्भीर अवस्थामा रहेको भन्दै राधादेवीलाई गोलबजारस्थित बर्धमान अस्पतालमा रेफर गरेको थियो । अस्पतालका सञ्चालक डा.तेज शंकर यादवले बिहीबार पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत जानकारी दिँदै भने, ‘राधादेवीलाई जब अस्पताल ल्याइएको थियो, तब बच्चाको अवस्था उल्टो थियो र दुई खुट्टा बाहिर निस्केको थियो। आमा र बच्चा दुवैको अवस्था अत्यन्तै जटिल थियो।’
डा.यादवका अनुसार परिवारको सल्लाहमा राधादेवीको शल्यक्रिया गरिएको थियो र कमजोर अवस्थाका बावजुद बच्चालाई सकुसल जन्माउन सफल भएको जनाइएको छ । ‘बच्चा जीवित भएपनि अत्यन्त कम तौलको थियो र रुने–कराउने अवस्था थिएन। भेन्टिलेटर सुविधा आवश्यक भएपनि हाम्रो अस्पतालमा त्यो सुविधा नभएकाले तत्काल अन्यत्र लैजान सल्लाह दिएको थियौं,’ डा. यादवले बताए ।
राधादेवीको माइतीपक्षले नवजात शिशुको मृत्युलाई शंकास्पद मानेर घटनामा थप छानबिनको माग गर्दै प्रहरीमा गुनासो गरेका छन् । माइतीपक्षका दाई राहुल पटेलले भने, ‘अस्पतालले शिशुको उचित उपचार नगरेको आशंका छ, र मृत्युपछि सद्गत पनि चुपचाप गरियो। यसबारे निष्पक्ष अनुसन्धान हुनु आवश्यक छ ।’
दिउँसो अस्पतालको स्पष्टीकरण आएपछि राधादेवीकी सासु जलेश्वरी देवी दासले अस्पतालप्रति समर्थन जनाउँदै भनिन्,‘डाक्टरले आमा बाँचून् भनेर धेरै मेहनत गरे। अस्पताललाई दोष दिने ठाउँ छैन, चार दिनदेखि आमाको उपचार यहीँ गराइरहेका छौं।’ जलेश्वरी देवीले अस्पतालले पूरा जिम्मेवारी पूरा गरेको बताइन् । अस्पताल प्रशासनले यो घटनामा परिवारको अन्तरजातीय विवाहका कारण व्यक्तिगत द्वन्द्व पनि संलग्न हुन सक्ने भन्दै घटनालाई पक्षपात नगरिकन हेर्न आग्रह गरेको छ । ‘घरायसी कारणले समस्या देखिएको हुन सक्छ, तर अस्पतालले आवश्यक सबै उपचार पद्धति पूरा गरेको हो,’ अस्पतालका प्रवक्ता यादवले अपिल गरे ।
सुत्केरी राधादेवीका श्रीमान चन्दन दास भारतमा रोजगारीमा रहेको हुँदा परिवारका दुई पक्षबीच थप असमझदारी बढेको अनुमान गरिएको छ । प्रहरी निरीक्षक साहले भने, ‘माइतीपक्ष र ससुराली पक्ष दुवैको बयानलाई गम्भीरताका साथ लिँदै घटनाको तथ्य पत्ता लगाउने प्रयास गरिरहेका छौं । पूर्ण विवरणपछि मात्र ठोस निर्णयमा पुग्नेछौं ।’