बझाङ : प्रगतिशील युवा समाजको सहयोगमा बझाङको जयपृथ्वी नगरपालिकाका आठ विद्यालयका विद्यार्थीहरुको शिक्षण सिकाईमा सूचना र सञ्चार प्रविधिको प्रयोगमा आकर्षण गर्न अतिरिक्त क्रियाकलापको आयोजना गरिएको छ ।
वल्र्डभिजन इन्टरनेश्नल नेपाल, एडुटेक नेपालको आर्थिक सहयोग र प्रगतिशिल युवासमाजद्वारा सञ्चालित विद्यालयमा प्रविधिमैत्री शिक्षा सिक्ने अवसर (टेलस) परियोजना अन्तर्गत अतिरिक्त क्रियाकलापको आयोजना गरिएको हो । अतिरिक्त क्रियाकलाप अन्तर्गत पाण्डु माध्यामिक विद्यालय, सुनिपिपलचौर माध्यामिक विद्यालय, नारायण माध्यामिक विद्यालय, सुर्मा र शिशु आधारभूत विद्यालयमा टाइपिङ प्रतियोगिता, निलकट्टी माध्यामिक विद्यालयमा आधुनिक युगमा सूचना तथा सञ्चार प्रविधिको महत्व शिर्षक र भवानी माध्यामिक विद्यालयमा प्रविधिमैत्री शिक्षा आजको आवश्यकता शिर्षकमा निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको छ ।
यी गतिविधिहरूले शिक्षण–सिकाई प्रक्रियामा प्रविधिको प्रभावकारी प्रयोग गर्न विद्यार्थीहरूको रुची जागृत गराउने र सिकाईलाई अझ प्रभावकारी बनाउने प्रगतिशिल युवा समाजका टेलस परियोजना अधिकृत पाण्डव पुजाराले बताए । प्रगतिशिल युवा समाज बझाङले जयपृथ्वी नगरपालिकाका आठ वटा सामुदायिक विद्यालयहरुमा सूचना, सञ्चार तथा प्रविधि (आईसीटी) ल्याब स्थापना गरेको छ । ल्याबको प्रयोगगरी अडियो भिडियो सामग्रीको प्रयोग गरी विद्यार्थीको सिकाईलाई मजबुद बनाउने लक्ष्य राखेको छ ।