सप्तरी : मधेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले संघीयताले राष्ट्रियता मजबुत भएको बताएका छन् । शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित भिल्ला ११ होटल एण्ड रिसोर्टमा आयोजित‘पत्रकार आचार संहिता पालना सम्बन्धी गोष्ठी’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संघीयताले देश मजबुद बनाउने भएकाले विगतमा संघीयताविरुद्ध भ्रामक प्रचारहरु भएतापनि त्यसको पुष्टि नभएको स्मरण गराए । उनले मिडियालाई यस्तो कुराहरु लेख्नुपर्ने आग्रह गरेका छन् ।
‘संघीयता आयो भने देश टुक्रा–टुक्रा हुन्छ । देशै विभाजन हुन्छ । देश विभाजन भयो त ? देश टुक्रियो त ?’ उनले प्रश्न गरे‘संघीयताले बरु देश मजबुत भयो । राष्ट्रियता मजबुत भएको छ ।’
‘तीन तहको शासकीय संरचनाले गाउँका बाटाहरु फराकिलो भएको छ । जुन गाउँमा अस्पताल थिएन । त्यहाँ अस्पताल बनाइएको छ । गाउँका विद्यालयहरुमा प्लस टु सम्म पढाई हुँदैछ । यसकारण संघीयताले देश टुक््रयाउने हैन, देश विकास हुने हो । हिजो मिडियाले जे लेख्नुभयो,आज त्यो पुष्टि भएन’ उनले भने ।
मिडिया काउन्सिल मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा भएको गोष्ठीमा सप्तरीका ५० बढी पत्रकारहरुको सहभागिता रहेको थियो । गोष्ठीमा सहभागीहरुले पत्रकारहरु आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
यसैगरी आम सञ्चार प्राधिकरणसँग भएको सिमित श्रोत र साधनका बाबजुद पत्रकार लक्षित कार्यक्रमहरु लागू गरिएको आम सञ्चार प्राधिकरणका प्रदेश अध्यक्ष श्याम सुन्दर यादबले बताएका छन् । सञ्चार मैत्री पञ्चवर्षीय आवधिक योजनामा सञ्चारमैत्री कार्यक्रमहरु लागू गर्ने गरी प्रदेश नीति तथा योजना आयोगले तयारी गरिरहेको प्रदेश नीति आयोगको सदस्य डा.शिला मिश्रले बताइन् ।
उक्त कार्यक्रमको अध्यक्षता काउन्सिलका प्रदेश अध्यक्ष कैलाश दासको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य किरण कुमारी साह, सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद ढकाल, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कर्ण र सप्तरी शाखाका अध्यक्ष श्रवण देव लगायतले मन्तव्य राखेका थिए ।