२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध

Nada
२०८१ मंसिर १ गते १२:४५
Shares
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध

बागमती : सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा मकवानपुरका ४४ हजार नौ सय ६१ जना आबद्ध भएका छन् । गत २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्म मकवानपुरको ८६ हजार दुई सय ७९ घरमध्ये ४४ हजार नौ सय ६१ बिमामा आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड हेटौँडा मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिए ।

ncell

उनका अनुसार सबैभन्दा बढी मकवानपुरको मनहरी गाउँपालिकामा ८० प्रतिशतले स्वास्थ्य बिमा गराएका छन् भने सबैभन्दा कम बागमती गाउँपालिकामा १२ प्रतिशत घरले मात्र स्वास्थ्य बिमा गराएका छन् । 

मनहरी गाउँपालिकामा सात हजार एक सय ३१, हेटौँडा उपमहानगरपालिकामा २४ हजार आठ सय ३४, मकवानपुरगढी गाउँपालिकामा दुई हजार तीन सय ६६, थाहा नगरपालिकामा तीन हजार एक सय २५, भीमफेदी गाउँपालिकामा एक हजार छ सय ४२, कैलाश गाउँपालिकामा एक हजार चार सय ४९, बकैया गाउँपालिकामा दुई हजार ५६, इन्द्रसरोवर गाउँपालिकामा सात सय १५, राक्सिराङ गाउँपालिकामा नौ सय ५३ र बागमती गाउँपालिकामा छ सय ८३ को स्वास्थ्य बिमा भएको प्रमुख खड्काले बताए । 

कार्यालयमा बिमा दर्ताका लागि थप आवेदनहरू आइसकेको र ती सबै आवेदन दर्ताको तयारी भइरहेको प्रमुख खड्काले बताए । मकवानपुरमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बिमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितहरुको नाम दर्ताको कार्य गर्दै आएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकाहरूलाई जिल्लाको आठ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिने गरेका छन् । प्रमुख खड्काका अनुसार स्वास्थ्य बिमामा जोडिएकाहरूलाई मकवानपुरको हेटौँडा अस्पताल, मनहरी आधारभूत अस्पताल, हेटौँडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताल, राक्सिराङ आधारभूत र सिएम सि चुरेहिल अस्पताल प्राली हेटौँडाले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । 

प्रत्येक वडामा एक/एक जना सहजकर्ता परिचालन गरी बिमाको महत्त्व, यसको प्रक्रिया र बिमा कार्यक्रमबाट प्राप्त हुने सुविधाहरूका बारेमा प्रचारप्रसार गर्नुका साथै बिमा गराउनेहरूको नाम दर्ताको कार्य भइरहेको प्रमुख खड्काले बताए । 

सहजकर्तामार्फत दर्ता भएको बीमितहरुको नामलाई प्रत्येक तीन/तीन महिनामा कम्प्युटरमा दर्ता गर्ने गरिएको र अहिले नाम दर्ता हुने बीमितहरुले बिमा सेवा पाउने गरेको उनको भनाइ छ । 

पाँच जनाको परिवारले वार्षिक रूपमा प्रतिपरिवारले रु तीन हजार पाँच सयको प्रिमियम तिरे स्वास्थ्य उपचारबापत वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बिमा पाइने व्यवस्था छ । 

पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यले वार्षिक रु सात सयका दरले थप प्रिमियम तिर्नुपर्ने र सुविधा थैलीमा रु २० हजार थपिने जनाएको छ ।  

सम्बन्धित खबर