२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय

Nada
२०८१ मंसिर १ गते १२:५०
Shares
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय

मध्यविन्दु :  नवलपरासी (बर्दघाट सुस्तापूर्व) का थारु समुदाय महाभारतकालीन मेडरी नाचको संरक्षणमा जुटेका छन् । सो समुदायले परम्परागत रुपमा प्रदर्शनी गर्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान थालेपछि पाका पुस्ताले नाच संरक्षणका लागि कला हस्तान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन् ।

ncell

मध्यविन्दु नगरपालिका–३ का दुलामणि गुरौले अहिले मेडारी नाच समूहको नेतृत्व गर्दै आएका छन् । सत्तरी वर्षीय गुरौ यो नाचको संरक्षणका लागि नयाँ पुस्तालाई आफ्नो कला सिकाउँदै आएका छन् । पाको पुस्ताकाले मात्र मेडरी नाचको जगेर्ना गर्न सम्भव नभएकाले युवालाई पनि सिकाउने पहल गरिरहेको उनले बताए ।

“मेडरी नाच्न धेरै जना हुनुपर्छ अहिले धेरै हामी ७० वर्ष पार गरेका पाकापुस्ता छौँ इच्छा देखाउने युवालाई पनि सिकाउँदै नाचमा जोडिरहेका छौँ”, उनले भने, “युवा पुस्तालाई यो नाचको महत्व बुझाउँदै सिक्न प्रेरित गरिरहेका छौँ ।”  हरेक वर्ष हरिबोधिनी एकादशीका दिन मध्यविन्दु–३ लेडाहादेखि कावासोती नगरपालिका १५ गुन्द्रहीसम्म धार्मिक विधि अनुसार नाच्दै जाने गरिएको छ । महाभारतमा आधारित मेडरी नाच थारु समुदायको ऐतिहासिक नाचमध्यको एक रहेको मेडरी नाच नचनिया गुरौले बताए ।

“मेडरी नाचमा कम्तीमा एक सय र बढीमा एक सय ५० नचनियाहरू गोलाकार रूपमा नाच्ने गरिन्छ”, उनले भने, “यो नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाइँमा पाँचपाण्डवहरूले प्रयोग गरेका सामानहरू लिएर समूहमा गोलाकार भएर नाचिन्छ ।”  

थारु समुदायका अन्य नाच युवापुस्ताले जगेर्ना गर्दै आएको भए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको स्थानीय गेनाराम महतोले बताए । “दैवी शक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायत पर्वमा नचाइने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उनले भने, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधिनी एकादशीसम्म नचाइने गरिन्छ ।”

महाभारतको लडाईंमा अर्जुनको रथको ध्वजाका रूपमा बिचमा ध्वजापताकासहितको ठूलो बासको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरबारको प्रयोग हुन्छ । यस नाचप्रति केही युवाले चासो देखाएर सिक्न थालेको हुमबहादुर थनेतले बताए । “यस नाचका लागि आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवामा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ”, उनले भने ।

थारु समुदायको लाठी नाच र झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाच अहिले पनि पाका पुस्ताकै भरपर्नुपर्ने अवस्था रहेको छ । थारु संस्कृतिको पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व रहेको चुनिलाल थनेतले बताए । अहिलेको नयाँ पिँढीले भने मेडरी नाचको महत्व बिर्सिंदै गएको थनेतको गुनासो रहेको छ । 

“पहिले पहिले मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले मात्र नाच नचाउन गारो हुन थालेको छ”,उनले भने, “अहिले केही युवाहरूको सहभागिता बढ्न थलेको छ ।” 

थारु समुदायमा कृष्णलीला र महाभारतमा आधारित मेडरी नाच मात्रै देखाउने गरिएको छ भने सीताहरण नाच लोप हुने अवस्थामा पुगेको दुलामणि गुरौले बताए । रासस

सम्बन्धित खबर