२०८१ मंसिर २ गते आइतवार / Nov 17 , 2024 , Sunday
२०८१ मंसिर २ गते आइतवार

जाजरकोटको नलगाड र कुशे–७ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

ADV
कुलेन्द्र शाही
२०८१ मंसिर १ गते १४:३४
जाजरकोटको नलगाड र कुशे–७ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिका र कुशे गाउँपालिका–७ मा आगामी मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । शुक्रवार नलगाड नगपालिका दल्ली र कुशे गाउँपालिका–७ को नेपाल राष्ट्रिय मावि समकोटमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । 

नलगाडमा मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरे र र कुशे–७ मा नविन कुमार भट्टले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदमा र कुशे गाउँपालिका–७ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । त्यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आ–आफ्नो उम्मेदवारको नाम घोषणा गरिसकेका छन् । एमालेले नलगाड नगरपालिकाको उपप्रमुखमा सुनिता बोहोरा, कुशे गाउँपालिका वडा नम्बर–७ को वडाध्यक्षमा डम्बरबहादुर घर्तीलाई उम्मेदवार बनाएको छ । 

यस्तै नेपाली कांग्रेसले जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुखमा इन्द्रा चन्द सिंह र कुशे गाउँपालिका वडा नम्बर–७ को वडाध्यक्षमा खम्बबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले नलगाड नगरपालिका नगर उपप्रमुखमा देवका लामिछाने र कुशे गाउँपालिका वडा नम्बर–७ को वडाध्यक्षमा गोरख नेपालीको नाम घोषणा गरेको छ । 

यस्तै रास्वपाले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा पार्वती पुनको नाम घोषणा गरेको छ भने कुशे–७ मा वडाध्यक्ष पदका उम्मेदवारको टुंगो लगाउने काम प्रक्रियामै रहेको जनाएको छ । 

निर्वाचनको कार्य तालिकाअन्तर्गत मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता गरिनेछ । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको समय १० देखि ५ बजेसम्म रहेको छ भने सोही दिन नै उम्मेदवारको सूची सार्वजनिक हुनेछ ।
 
उम्मेदवारको विरोधमा उजुरी दिने मङ्सिर ३ गते र उजुरीमाथि छानबिन मङ्सिर ४ गते गरिनेछ । उजुरीमाथिको छानबिनपछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गरिने तालिका छ । त्यसैगरी उम्मेदवारको नाम फिर्ता लिने मङ्सिर ५ गते र उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise