तनहुँ : जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्ग, व्यास नगरपालिका-७ र ८ जोड्ने कालिका मार्ग र बुल्दी खोलामा पक्की पुल निर्माण गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएका एक सय ७९ वटा योजनामध्ये क्रमगत ३३ र बहुवर्षीय ४१ वटा आयोजना सञ्चालनमा छन् । उक्त कार्यालयका इन्जिनियर धनमाया मिश्रका अनुसार ती आयोजनाका लागि रु. एक अर्ब ४० करोड ५९ लाख ८० हजार विनियोजन भएको छ ।
तनहुँको दासढुंगा शालिकराम करिडोर लोक मार्गमा तीन वटा प्याकेजमा काम भइरहेको छ । जिल्लाको बैडीबाट देवघाटसम्मको साढे २१ किमी पहिलो प्याकेजअन्तर्गत काम जारी छ । दोस्रो प्याकेजमा १० किमी र तेस्रो १६ किमी निर्माण हुनेछ ।