२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता

ADV
मध्यान्ह
२०८१ मंसिर २ गते १३:२५
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता

काठमाडौँ : गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भइरहेको कामका विषयमा छलफल भएको थियो ।

भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार तथा मानव बेचबिखन नियन्त्रणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग र सहकार्य गर्न जोड दिए ।

गृहमन्त्री लेखकले जनताले कष्ट नपाउने गरी सौहार्दपूर्ण वातावरणमा शान्ति सुरक्षा र अपराध नियन्त्रणतर्फ दुवैतर्फको ध्यान जानुपर्नेमा जोड दिँदै गृहमन्त्री लेखकले नेपाल-भारत सीमा नाकामा ओहोरदोहोर गर्ने नागरिकहरूलाई मर्यादित व्यवहार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए ।

“नेपाल–भारतबीच सदियौँ पुरानो सम्बन्ध रहिआएको छ”, गृहमन्त्री लेखकले भने, “सीमा सुरक्षा बलका काम कारबाहीले दुई देशबीचको सम्बन्ध थप बलियो हुनेमा विश्वस्त छु, सहयोग र सहकार्य गरी सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणसहित सीमा आवतजावतका क्रममा सम्मानजनक व्यवहार गरी दुवै देशका जनताको विश्वास जितौँ ।”

सो भेटवार्ताका अवसरमा गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय एसएसबीका महानिर्देशक अमृत मोहनप्रसादससहित उच्च अधिकारीको सहभागिता थियो ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौँ आएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise