– पवित्रा चाम्लिङ, खोटाङ
(१)
मान्छेले मुर्तिको अगाडि, दश औंला जोड्ने गर्छ
तर, जन्म दिने बाआमा, आश्रम लगि छोड्ने गर्छ
मान्छेले धर्म नमानेपछि, हड्डी र मासु नठानेपछि
प्राप्तीको निम्ति, रगतको नातालाई तोड्ने गर्छ ।
(२)
श्वास पनि बुबाले खलाँतीले जस्तो, फेरेको देख्छु
आजभोलि तिमी आउने बाटो मात्र, हेरेको देख्छु
उमेरले पनि डाँडा काट्यो, यौवनले बुढोपन साट्यो
हर रातको सपनीमा गिद्धले घरलाई, घेरेको देख्छु ।
(३)
प्रकृतिलाई साँच्ची राखेर, माया गरि दिउँला
उजाड मनको गराहरूमा, बुट्टा भरी दिउँला
तिमी त मेरो खास छौ, भविष्यको आश हौ
तिमीले साथ दिएनौं भने, एक्लै मरि दिउँला ।
(४)
आमा हैन उनी श्रीमती, तर रहर गर्थि मैले पढेको हेर्न
असल काम गरिगरी, समाजको अगाडि बढेको हेर्न
उनिले सधैं ईश्वर जप्थिन्, मेरो दुःखमा खुसी थप्थिन्
समस्थल धराबाट, एकपछि अर्को सिडि चढेको हेर्न ।
(५)
लाग्छ जिन्दगानी, हाँसी खुसी भई जीउन सकौँ
च्यात्तिएको मन, सियो र धागो भइ सिउन सकौँ
प्रेमको जगेर्ना गर्नु पर्दा, बसन्त नआई झर्नु पर्दा
स्नेहपूर्वक जहर दिँदा, सोमरस झैँ पिउनु सकौँ ।
– सुरज उपाध्याय, पोखरा
म जन्मेको घर भन्दा
तिम्रो घर प्यारो लाग्न थाल्यो
मेरा बा आमा भन्दा
तिम्रा बा आमा आफ्ना लाग्न थाले
सोच्थें तिमी नै मेरो सर्वस्व हौ
आज तिम्रो घरको दैलो टेके पछि
तिम्रो हातले
मेरो सिउदो रंगीए पछि
बल्ल थाहा भयो
त्यति बेला
म प्रेममा होइन
मात्र तिम्रो भ्रममा रमाइरहेको रहेछु ।
सिन्दुर प्रेमको प्रतीक हुने भए
चुरा प्रेमको संगीत हुने भए
सौभाग्य प्रेमको संसार हुने भए
लोग्ने बितेर जादा पनि
श्रीमतीको शरीर भरी छाइरहने थिए
प्रेमको अमूल्य गहना बनेर ।
घरभित्र दिनहुँ झगडा गरेर पनि
घर बाहिर निस्कदा मुसुक्क मुस्कुराउने दम्पतीले झै
मुस्कान सबैले दिन्छन्
मात्रै
सबै मुस्कानहरु प्रेम हुन सक्दैनन् ।
जुन कुरा बुझेर पनि
नबुझे जस्तो गरेऊ
त्यही कुराको पीडा
न देखाउन सकेको छु
न मेटाउन सकेको छु ।
– सुरेशकुमार पान्डे, दाङ
हामी लड्दैछौं अन्धकारको विरूद्धमा,
अन्याय अरू अत्याचारको विरूद्धमा ।
अनुशासन बिना लडाईं जित्न सकिन्न,
लड्नैपर्छ गलत व्यवहारको विरूद्धमा ।
कसैले मातृत्व धरौटीमा राख्न खोज्छ,
आन्दोलित भयौँ ठेकेदारको विरूद्धमा ।
नेता सधैं खशी दिन्छन् फर्शी ल्याउँछन,
लड्दैछौं असमान व्यापारको विरूद्धमा ।
अदुरदर्शिताले देश हरिकंगाल हुँदैछ,
कति लडौँ सधै बालुवाटारको विरुद्धमा ।
मानिसले संघर्ष न गरेर बाँच्न सकिँदैन,
प्राकृतिसँगै यो घर संसारको विरुद्धमा ।
साम्राज्यवादले सधैभरी जाल बुन्नेगर्छ,
श्रमजीवीकै वर्गीय प्यारको विरूद्धमा ।
काठमाडौं : युवा गजलकार सपना न्यौपानेद्वारा लिखित ‘जीवनको रहस्य’ गजल संग्रह सार्वजनिक गरिएको छ । युवा स्रष्टा न्यौपानेको गजल संग्रह एक कार्यक्रमका बीच बुधबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले न्यौपानेको गजलकारिताबारे विशेष चर्चा गरेका थिए । गजलकार न्यौपानेको जीवनको रहस्य गजल संग्रह पहिलो कृति हो । कार्यक्रममा गजलका बियोगी बुढाथोकी, रामप्रसाद दाहाल, ज्ञाननिष्ठ ज्ञवाली, रोशन थापा, सन्ध्या पहाडी, रञ्जना निरौला, राजेन्द्र केसी र गिता मैनालीले संयुक्त रुपमा गजल संग्रह ‘जीवनको रहस्य’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यालय पुतलीसडकमा सार्वजनिक गरेका थिए । जीवनको रहस्य गजल संग्रहको प्रकाशक शुभद्रा न्यौपाने हुन् ।
वियोगी बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार सन्ध्या पहाडीको अध्यक्षता र ज्ञाननिस्ठ ज्ञवालीले पुस्तकको समिक्षा गरेका थिए ।
विमोचित कृतिमा टिप्पणी गर्दै कार्यक्रमका विशिस्ट अतिथि राम प्रसाद दाहालले ‘जीवनको रहस्य’ले वास्तवमै यथार्थ जीवनको चित्रण गरेको र वर्तमान सामाजिक विकृतिमा तिखो प्रहार गरेको बताए ।
त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी अध्यक्ष सन्ध्या पहाडीले यो गजल संग्रह प्रवासमा रहने नेपालीको मात्र आवाज नबोलेर सम्पूर्ण नेपालीको वास्तविकताको आवाज भएको बताइन् ।
ग्लोबल प्रिन्ट कनेक्सनले बजारमा ल्याएको जीवनको रहस्य पुस्तकको मूल्य २०० रुपैयाँ रहेको छ । गजल संग्रहमा ९० वटा गजल समेटिएको ।
जीवनको रहस्य गजलका यस्ता छन् शब्द :
जाँदै छु आमा म बोकि सपनाको भारी
आफ्नो गाउँ घर छोडी त्यो समुन्द्र पारी ।
भो भो मलाई कसैले पर्दैन सिकाउन राम्रोसँग
राम्रो सँग थाहा छ, मलाई मेरो जिम्मेवारी ।
दुःख भन्ने के हो परिवारलाई थाहा हुन्न
परदेशमा खोज्दै हिडे सुख भेट्ने चौतारी ।
आउन त आए प्रदेश कसैको कुरा नसुनि
आज बिरानो यो मुलुकमा हिन्दैछु भौतारी ।
कमाई आए आमा चाडैं सकिने छैन पैसा
उमेर पुगेछ अब खोज्दै दुःख काट्ने दौतरी ।
काठामाडाैं : अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा ४० भाषाका कविता वाचन भएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ मा ४० भाषाका ४६ कवि एवं कवयित्रीले कविता वाचन गरेका हाे ।
सोमबार आयोजित कार्यक्रममा मातृभाषाको संरक्षणका लागि अछामी भाषाका मनोजकुमार साउद, अठार मगर खाम भाषाका राकेश बिएम ‘चिन्तन’, अवधी भाषाका शवनम श्रीवास्तव, उर्दु भाषाका नासीर मुहमद अन्सार नेपाली, उराँव भाषाका कुमारी सरना उराँव, केवरत भाषाका हेमन्ती केवरत र धिरजकुमार दासले कविता वाचन गरेका थिए ।
यसैगरी खस भाषाका नवीन न्यौपाने, गुरुङ भाषाका तेजबहादुर गुरुङ, घले भाषाका गणेशबहादुर घले, चाम्लिङ राई भाषाका सहस्रा राई, जिरेल भाषाका टीकाभक्त जिरेल, डोटेली भाषाका सरस्वती भाट धामी र राजेन्द्र तारकिणी, ढुट मगर भाषाका हिरामती राना सिञ्जाली, ताजपुरिया भाषाका सपनाकुमारी ताजपुरिया, तामाङ भाषाका अनिता तामाङ, तीन गाउँले थकाली भाषाका रामबहादुर थकाली, थामी भाषाका रुपाकुमारी थामीले पनि आ–आफ्ना भाषामा लेखिएका कविता वाचन गरे ।
थारू डङ्गोरा भाषाका जुनु थारू, थारू मध्य (चितवनीया) भाषाका सावित्री चौधरी, थुलुङ भाषाका सुवोध राई, दनुवार भाषाका रमेशकुमार दनुवार, दुरा भाषाका सीता दुरा, देवास राई भाषाका विष्णु देवास राई, धिमाल भाषाका गणेशमान धिमाल, नाछिरिङ भाषाका प्रतापसिह नाछिरिङ, नेपाल भाषाका ओमनरहरि श्रेष्ठ र काशीराम विरस, बज्जिका भाषाका सन्दीपकुमार साह, बान्तवा राई भाषाका सुमन राई र शुक्र बान्तवाले पनि मातृभाषामा रचना गरिएको कविता वाचन गरेका थिए ।
बायुङ राई भाषाका किशोर बायुङ राई, भोजपुरी भाषाका ऋतिक यादव, मगही भाषाका मुरलीप्रसाद यादव, मेचे भाषाका रोशनी मेचे, मैथिली भाषाका राकेशकुमार झा ‘रसिक’ र रुपेशकुमार सदाय, राजवंशी भाषाका अजयप्रसाद राजवंशी, बाम्बुले राई भाषाका एलिना बाम्बुले राई र रवि बाम्बुले राई, शेर्पा भाषाका आङ्गडेण्डी शेर्पा, सन्थाली भाषाका शिवु मुर्मु, सुनुवार भाषाका सपना सुनुवार, संस्कृत भाषाका प्रा डा विष्णुप्रसाद देवकोटा र हायु भाषाका गुना हायुले पनि मातृभाषामा कविता वाचन गरेकाे थियो ।
प्रतिष्ठानले नेपालका सबै मातृभाषा संरक्षण गर्ने उद्देश्यले ११ वर्ष अघिदेखि २१ फेब्रुअरीका दिन महोत्सव आयोजना गर्दै आएको छ । कार्यक्रमका लागि ४० भाषाका ९७ कविता प्राप्त भएकामा छनोट उपसमितिले ४६ वटा चयन गरेको थियो ।
कान्ति न्यौपाने/मध्यान्ह
काठमाडौं : झर्रोवादी साहित्यका अगुवा डा. ताना शर्मालाई एकपटक कसैले सोध्यो– आफ्नो जिन्दगीलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
जवाफ थियो– मेरो जिन्दगी गण्डकीको पानी जस्तै हो, कहिले तल त कहिले माथि ।
शर्माको उत्तर जस्तै ताना शर्माले जिन्दगीका अनेक उचारचढावलाई सहन गरे । तर, गत फागून ३ गते उनको जीवनमा यस्तो उतारचढाव आयो कि उनले त्यो उतारचढाव सहन सकेकन् र भौतिक देह त्याग गरी उनी नफर्किने बाटो लागे ।
ताना शर्माको वास्तविक नाम तारानाथ भण्डारी हो, तर उनले बनारसमा पढ्न गएपछि नाम फेरेर ताना शर्मा राखेका थिए । शर्माको जन्म १९९१ असार ९ गते ईलामको बरबोटेमा भएको थियो । उनी पिता प्रजापति उपाध्याय र माता देवकीको पहिलो पुत्र थिए । उनले प्रारम्भिक शिक्षा गाउँबाटै सुरु गरेका थिए । अक्षर चिनिसकेपछि उनले रुद्री, ‘चण्डी” पढेँ, अलिअलि वेद पनि पढाए अनि संस्कृतको अमरकोशको पनि अध्ययन गरे । ज्योतिषको गणना गर्ने किताब पढेका उनले ईलामको चन्द्र–मोहन मिडिल स्कुलमा तीन कक्षादेखि अङ्ग्रेजी पढ्न थालेका थिए ।
६ कक्षासम्म ईलामको फिक्कलमै पढेका उनले दार्जिलिङको सेन्ट जोसेफमा एकै पटक नौ कक्षामा भर्ना भए । सधंै पहिलो हुने शर्माले १२ कक्षासम्म दार्जिलिङमै पढे । त्यसपछि बनारसबाट बिए गरेर नेपाल फर्किएका शर्मा दोस्रो भाषा अंग्रेजीमा स्नातकोत्तर अध्ययनका लागि पटना पुगेका थिए ।
उनले अमेरिकाको विस्कन्सिन विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि समेत गरेका थिए । अनि, उनले नेपाल फर्किएर त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागमा केही समय अध्यापन गराए । त्यसक्रममा उनले अमेरिकामा आगन्तुक प्राध्यापकका रुपमा पनि केही वर्ष काम गरे । उनी नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, उपन्यासकार, समालोचक र कथाकार पनि हुन् । ताना शर्मालाई धेरैले सरल साहित्यकार र निर्मम समालोचकका रुपमा पनि ब्याख्या गर्ने गरेका छन् ।
शर्माको २००८ सालमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा पहिलो ’इलाम’ शीर्षकको निबन्ध छापिएको थियो । ‘इलाम’ निबन्ध छापिएपछि नेपाली साहित्यमा उनको प्रवेश भएको थियो । उनको पहिलो पुस्तक ‘नमस्ते’ निबन्ध संग्रह २०१८ सालमा प्रकाशित भएको थियो । दोस्रो कृति २०२१ सालमा ‘घोत्ल्याइहरू’ समालोचना संग्रह प्रकाशित भयो । गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविता सङ्ग्रह २०२० मा र गुरूप्रसाद मैनालीको ’नासो’ कथा सङ्ग्रह २०२१ मा प्रकाशित भएको थियो, जसलाई शर्माले आफैँले सम्पादन गरेका थिए ।
शर्माले २०१३ सालमा बालकृष्ण पोखरेल, कोषराज रेग्मी, चुडामणि रेग्मी, बल्लभमणि दाहालहरुसंग मिलेर झर्रोवादी अभियान सुरु गरेका थिए । झर्राेवादी आन्दोलनको मुख्य उद्देश्य नचाहिँदा क्लिष्ट शब्दावलीहरुलाई हटाएर सरल र सरस नेपाली भाषाको प्रयोग गर्नु थियो । तत्सम र आगन्तुक भाषाबाट आएका क्लिष्ट शब्दावलीलाई सरलीकरण गर्नु थियो । नेपाली भाषाको अस्तित्व रक्षाको लागि ‘झर्राेवादी आन्दोलन’को सुरुवात गरेको शर्माले बताएका थिए । उनले ‘नौलो पाइलो’ नामक पत्रिका प्रकाशन गर्दै झर्रोवादबारे ब्याख्या र आवश्यकताको चर्चा पनि गरेका थिए ।
साहित्यमा विशेष योगदान पु¥याइरहेका शर्मा निबन्ध संग्रहमा मदन पुरस्कार पाउने पहिलो व्यक्ति थिए । उनको ‘बेलाईततिर बरालिँदा’ भन्ने कृतिले २०२६ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । त्यसैगरी ‘सम र समका कृति’ का लागि २०२९ सालमा शर्माले साझा पुरस्कार पाएका थिए । २०२३ सालमा रत्नश्री स्वर्णपदक प्राप्त गरेका शर्माले २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार समेत पाएका थिए । उनलाई २०४५ सालमा गान्तोक–सिक्किममा अभिनन्दन समेत गरिएको थियो ।
शर्माले मवीवि शाहको ‘उसैका लागि’ कविता संग्रह आलोचना गर्दा तीन महिनाको जेलजीवन विताएका थिए । तर, बालकृष्ण समको ‘चिसो चुल्हो’ कृति समालोचना गर्दा भने उनीहरुबीच निकटता बढेको थियो । नेपाली साहित्यमा निबन्ध, समालोचना, कथासँगै पाँचवटा उपन्यास २०३० मा ‘सुली’, २०२३ मा ‘मेरो कथा’, २०२३ मा ‘ओझेल पर्दा’, २०३५ ‘झझल्को’ , २०४८ मा ‘नेपालदेखि अमेरिकासम्म’ प्रकाशित भएका छन् । उनी समालोचनामा अब्बल भएका कारण उनका उपन्याससंगै केही कृतिहरु ओझेलेमा परेको चर्चा पनि हुने गरेको छ ।
शर्माले जीवनको उत्तरार्धमा संस्कृत भाषा, राष्ट्र राष्ट्रियता र वैदिक वाङ्मयकोे वकालत सुरु गरेका थिए । सुरुवाती चरणमा प्रगतिवादी साहित्यकारको रुपमा परिचित शर्मा २०४७ सालको परिवर्तनपछि भने नेपाली कांग्रेसमा प्रवेश गरे । २०४७ कै परिवर्तनपछि उनी राइजिङ नेपालको सम्पादक समेत बनेका थिए । पछिल्लो समय झर्रोवादी आन्दोलनलाई धेरैले छाड्दै गए पनि साहित्यकार शर्माले भने यसलाई पूर्ण रुपमा त्यागेनन् । बरु, यसको आवश्यकता र महत्वको चर्चा गरिरहे ।
नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका शर्माको सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित भएका छन् । नियात्राका सगरमाथा शर्मा भौतिक रुपमा नरहेन पनि उनको कृति र योगदानको भने नेपाली साहित्य क्षेत्रले जुँगौजुँग सम्मान गर्नेछ । अलबिदा साहित्यकार एवं अगुवा ताना शर्मा ।
– बद्री अधिकारी
पूर्णचन्द्रको सितलता जस्तै उसको सामिप्यताले मलाई शाश्वत सितलताको अनुभूत गराउने गर्दथ्यो । युद्ध मैदानमा हार्न लागेको सिपाही कमाण्डरको उपस्थितिको आभासबाट जसरी मजबुत, नीडर, साहसी र हिम्मतिलो बन्दछ म पनि त्यस्तै हुन्थेँ । मानौं मेरा लागि उसलाई इस्वरले यो धर्तिमा रक्षाका लागि पठाएका हुन् । त्यसैले होला म उसका हरेक चाहनालाई परिपुर्ति गर्न लालायित हुने गर्दथेँ । हो ऊ मेरो मन मन्दिरमा सदा बिराजमान हुँदै थियो । म उसलाई खुसी र सुखी देख्न चाहन्नथेँ । घरीघरी एक्लै हुँदा आफ्नो अतितको सुमधुर क्षणको समुन्द्रमा सूर्यस्नान गर्न पुग्दथेँ ।
बितेका पलको सम्झनाले मन चन्चल हुन्थ्यो र मुहारमा चन्चलता दगुर्न थाल्दथ्यो । खोइ ! के भएको हो ? उसको बलिस्ठ शरीरको आकर्षण हो या शालीन व्याक्तित्वको प्रभाव ! उसँगको घरीघरीको जंकाभेट मेरा लागि कुकुरलाई घाँटीमा अड्किएको हाड झैँ हुने गर्दथ्यो । मेरो शिर लाजले निहुरिन्थ्यो र आँखाले दिशा परिवर्तन गर्दथे । उसका आँखा आफ्नो उरोजमा टासिँएको देख्दा पनि मभित्र उप्रति क्रोध उत्पन्न हुँदैनथ्यो । यसलाई के भन्ने, माया या मभित्रको कुर्कुराउदो बैँस ? उसको त्यो हेराइ देख्दा पनि मभित्र ऊ प्रति किन क्रोध उत्पन्न नभएको होला ? मनमनै म आफू आफैंसँग रिसाउथेँ । मस्तिष्क रिसाएर के गर्नु, मन रिसाउदैनथ्यो ।
क्याम्पस पढ्न थालेको एक महिना भित्रनै मलाई यो अनौठो रोगले ग्रसित पारिसकेको थियो । अन्य युवकसँगको बोलीचाली, जम्काभेटमा उनीहरूद्वारा गरिएको आफ्नो यौवनको अवलोकन देख्दा मभित्र भित्रै क्रोधले मुर्मुरिन्थेँ । बाघले शिकारलाई नङ्ग्राए झैं नङ्ग्राउन मन लाग्दथ्यो । उनीहरु पनि मेरो मुहारमा झल्कने क्रोधको कारणले होला मसँग ततरकिन्थे । तर, सुबोधको त्यसैअनुरूपको व्यवहारलाई मेरो शरीर र मनले सहजै स्वीकार गर्दथ्यो । साच्चिकै भन्नुपर्दा म रमाइलो अनुभूत गर्दथेँ । यस्तो हुनुलाई मायाको प्रथम चरणभन्दा अनुचित नहोला ! मलाई चारो हाल्ने युवकहरू सुबोध र मेरो बारेमा चाहिँदो नचाहिँदो कुरा गर्न थालीसकेका थिए । सुवोधले पनि त्यो हामी द्वयबीचको कुरा सुनेको थियो होला । उसका साथीहरूले उसलाई पनि सुनाएका थिए होलान र त उसको व्यवहार मप्रति केही पृथक भएको महसुस हुँदै थियो मलाई । नखाइ विष लाग्दैन भन्ने कुरामा म ढुक्क थिएँ ।
एकदिन ऊ मेरो पछाडि पछाडि आइरहेको मैले चोरी नजरले देखि सकेकी थिएँ । आफूलाई मबाट अलग्याउने उसको अगाडिको प्रयासलाई सम्झदा प्रथम पटक त्यो दिन उसप्रति क्रोध उत्पन्न भएको थियो । त्यसैले म उसलाई नदेखेको अभिनय गर्दै थिएँ । ऊ चाँचाँडो आउँदै थियो । हामीबीचको दूरी क्रमिक घटदै थियो ।
“सुनैना ....! सुन त ।”
पछाडीबाट कानमा ठोक्किएको उसको याचना पूर्ण स्वरले मेरा अगाडि बढदै गरेका कदम टक्क अडिए । उसको याचनापूर्ण स्वरले मभित्रको आगोलाई निभाई सकेको थियो । आफूलाई उसले तिमीको सम्बोधन गरेकोमा मेरो मन खुसिले रमाउँदै थियो । मान्छेको मन अचम्मको हुँदो रहेछ । मेरो मन उसँग बोल्न लालायीत हुँदै थियो तथापि मुख उघार्न सकिरहेकी थिइनँ । ऊ मलाई शिरदेखि पैतलासम्म नियाली रहेको थियो । अघि भर्खरै उसले आफूबाट अलग्याउनु खोजेको विचार मनमा उत्पन्न हुँदा दुखित भएको मेरो मनभित्र एकै चोटि माया, खुसी र आनन्दका करोडौं टुसाहरू हठात् उम्रीएका थिए । म उ प्रति प्रश्नवाचक दृष्टि फ्याँकिरहेकी थिएँ । ऊ वार्तालाई आरम्भ गर्ने शब्द चैन गर्दैथियो क्यार...! मभित्र चै समयमा घर नपुगे या नगए घरपरिवारको यावत प्रश्नले दिमागै खल्बलिने एक प्रकारको डर पैदा हुँदै थियो । त्योभन्दा त ढिलो नगरी जानुनै उचित थियो । तर, मेरो मनले मस्तिष्कको निर्देशन मानी रहेको थिएन । तर, पनि उसको सोधाइको उत्तर त दिनुनै थियो ।
“हजुर भन्नुहोस् ...!”
“तिमीलाई फुर्सद भए चिया पिउँ, उतै गफ गरौंला हुन्न ?”
मैले उसको मुहारमा आउँदै जाँदै गरेको भाव पढने कोसिस गरेँ । मुहारमा उब्जेको भावले अन्तरमनको कुरा कहाँ बुझ्न सकिन्छ ! ऊ मेरो उत्तरको प्रतिक्षा नगरी आशावादी नजरले मलाई हेर्दै नजिकैको होटल तिर लाग्यो । मनमा उसको आग्रहलाई अनादरगर्ने आँट पलाउन सकेन । दिमागले विरोध गर्दागर्दै मेरा पाईलाहरूले उसको अनुसरण गरिरहेका थिए । शरीरलाई मनले डोहोर्याउनु भनेको यही हो क्यारे !
हामी एकअर्काको आमुन्ने सामुन्ने हुनेगरी होटलको कुर्सीमा बसिसकेका थियौं । ऊ कुरा कोट्याउन सकिरहेको थिएन । केवल मेरो मुहारलाई ट्वाल्ल ट्वालती हेरिरहेको थियो । उसको हेराईले मलाई असजिलो पारिरहेको थियो । आफूले मनपराएको एउटा युवकसंग एकान्तमा बस्नु मेरा लागि पहिलो अनुभव थियो । लाजले शिर निहुराएर आफ्नो खुट्टाको बुढी औंलाले चप्पल कोट्याउन थालेँ ।
“सुनैना ! तिमीले आफ्नो भविष्यको बारेमा के सोँच बनाएकी छौ । मेरो भन्नुको मतलब अगाडिको पढाईको बारेमा ?” आफूले सोचे बिपरित मुखबाट कुरा फुत्केकोमा उसले अन्तिम वाक्यांसमा बढी जोडदिएको देख्दा मलाई आफ्नो हाँसो दबाउन गाह्रो भैरहेको थियो ।
“क्याम्पस आउन थालेको भर्खरै त हो ! अहिलेसम्म त केही सोचेकै छैन ।” ओठमा मुस्कान छर्दै मैले भनेँ । ऊ पनि मलाई हेरेर फिस्स मुस्कुरायो । अनि चिया पिउन तल्लिन भयो । मानौँ उसँग गफ गर्ने कुरा रित्तिसके । चिया पिउँदा पिउँदै लुकिछिपी ऊ मेरो शरीरलाई नियाली रहेको थियो । यो क्रममा उसका र मेरा आँखा चार हुन्थे । उसको असामान्य व्यवहारले मभित्र अनौठो चन्चलता जागृत गराई रहेको थियो । “मनको कुरा भन्न नसक्ने लाछि छोरा मान्छे !” म यसरी रमाउदै थिए मनोसम्बादमा .....। यस्तै यस्तै उसको बानीले मलाई उ तिर आकृष्ट पारिरहेको थियो । उसलाइ जिसक्याउने रहरलाई मैले दबाउन सकिनँ ।
“तपाइका गफ रित्तिए ?” मैले चन्चलता दर्शाउदै उसलाई सोधेँ ।
“गफ नै केही थिएन । चियाको तलतल् मेटाउने बहाना ......एकलै पिउन झर्को लागेर ।” हाँसीहाँसी उसले भन्यो । उसको कृतिम हाँसो मबाट छुप्न सकिरहेको थिएन ।
“तपाईँ सारै सिल्ली हुनुहुँदो रहेछ, अरूलाई मनोरन्जनको साधन सम्झने, यस्तो जानेको भएत आउने नै थिइनँ ।” यति भन्दै म उठेँ कुर्सिबाट । निम्छरोलाई सबैले हेप्तो रहेछ । मेरो कुराले उसको मनमा कति चोट पर्यो मैले अनुमान गर्न सकिनँ । उसको मुहार तम्तमाइलो देखियो ।
“एकैपटक सबै नभनौं भनेर बाँकी राखेको ....!” उसले ठट्यौलीको अभिनय गर्यो । अभिनय र वास्तवितालाई सहजै छुट्याउन सकिदो रहेछ । उसका आँखामा क्षमायाचनाको भाव तैरदै थियो ।
त्यो रात आँखामा निन्द्रा, मनमा शान्ती छाउन सकेन । रात उसको सम्झनामा छट्पटीमै बित्यो । पुरुषले मनको कुरा सहजै व्यक्त गर्छन् भनेको सुनेकी थिएँ । अचम्म उसमाथि त्यो कुरा लागु हुन सकेन । “त्यो त प्रतिशतको आधारमा अभिब्यत्त बिचार मात्र हो । यस्तै मनोसम्बाद द्वारा आफूलाई सान्त्वना दिदै रात बिताएँ ।
क्याम्पसको गेटमा उसको र मेरो जम्काभेट भयो । उसका र मेरा आँखा चार भए । उसका आँखा रातभरि नसुते झैं देखिँदै थिए । उसले मेरा आँखामा के देख्यो त्यो ऊ नै जानोस् । उसलाई जिस्क्याउने रहरले मलाई गाँज्न थाल्यो ।
“तपाईका आँखा त राता राता देखिदै छन् त, रातभरि सुत्नु भएन कि कसो ?”
“हँ ....ह.....! त्यसो होइन .....।” अकमकाउँदै मेरो अनुहारमा उब्जेका भावको अवलोकनपश्चात उसले कुरा जोड्यो । “मलाई भन्ने बहानामा तिमी आफ्नै कुरा त गरिरहेकी छैनौं ?”
म निरूत्तर भएँ । लाजले पानीपानी भएँ । पौँठेजोरिको खेल मैले हारिसकेकी थिएँ । घरीघरी हार्दा पनि मन रमाउने गर्दो रहेछ । साच्चिकै भन्नुपर्दा चोरलाई प्रहरीले पक्रि सकेको थियो । यस्तो कुराले मनलाई बढी लोभ्याउदो रहेछ । यो कुरा ममा लागुभैरहेको थियो । घण्टी लागेकोले हामी कक्षाकोठा तिर लाग्यौं । उसको सामु शिर निहुरिदा पनि मेरो मन खुसी प्राप्त हुने निस्चिन्त्ताले चन्चल र गदगद भैरहेको थियो ।
हामीद्वयको घरको फर्किने बाटो एउटै थियो । ऊ र म आज सँगसँगै घर फर्किरहेका थियौं । आफ्नो मन सँग लुकाछिपिको खेल खेल्ने सँग, सँगै हिँडदा पनि हामी मौन थियौं । त्यो मौनतालाई मैले नै भंग गरेँ ।
“तपाइँलाई फुर्सद भए, आज पनि मलाइ चिया पिउने रहर थियो ?”
“तिम्रो चाहनालाई परिपुर्ती गर्न पाउँदा म आफूलाई भाग्यशाली सम्झने छु ।”
मैले देखेँ, उसका आँखामा खुसी तैरिरहेको थियो । मन परेकाको खुसी आफ्नै खुसी झैं हुदोरहेछ । रमाइलो मन भएको शरीरले चन्चलता लुकाउन सक्दैन क्यारे !
“बढी नजिसक्याउँनु है ।” मैले मनले नमान्दा नमान्दै पनि मिहिन स्वरले कृतिम क्रोध दर्शाएँ । ऊ मलाई पुलुक्क हेर्दै मुस्कुरायो । उसको मुस्कानमा आज चन्चलता तैरिरहेको थियो ।
नास्ता खाने उसको आग्रहलाई मैले टार्न सकिनँ । आफैले गरेको प्रस्तावमा असहमति जनाउने कुरै उठेन । उसले आज चै होटलको कुनाको क्याबिन रोज्यो । हामी दुबै चोरी नजरले एक अर्कालाइ पालैपालो हेर्दै थियौं । मलाइ एकातिर लाजले गाँजेको थियो भने अर्काेतिर मनभित्र खुसियाली छाउदै थियो । आखिर लुकाछिपिको खेललाई थाती राख्दै मैले आफू भित्र साहस उमार्दै कुरा अगाडी बढाएँ ।
“चोरलाई प्रहरिले पक्रीएछ....!”
“कहाँ ?” उसले हतारहतार प्रश्न गर्यो ।
“अघि क्याम्पसको गेटमा....।” यति भन्दै म ठूलो स्वरले हाँसी दिएँ । मानौ म उसको अन्तरमनलाई बुझ्न सफल भै सकेँ ।
“हो र.....! धत.... ! म त अलमलिएँ छु । तिमी पनि ठट्टा गर्न त माहिर रहिछौ ।” यति भन्दै ऊ म तिर हेरेर मुस्कुरायो । उसको मुस्कानमा आज चन्चलता झल्किदै थियो । उसको चञ्चलता मेरो उत्सुकता बढाउने माध्यम बनिरहेको थियो । मलाई घरजानु हतार हुँदाहुँदै पनि खोइ के पाउने लालचले गाँजेर चुपचाप बसिरहन विवश भइरहेकी थिएँ । मनको कुरा घरीघरित आफैंसँग भन्न पनि गार्हो हुँदोरहेछ । कहिलेकाही त चाहनालाई अभिव्यक्ति गर्ने शब्दहरू मनको शब्दकोषमा फेला पार्न नै सकिदैन रहेछ । म नजानिँदो पाराले उसको क्रियाकलापको अध्ययन गरिरहेकी थिएँ । ऊ पनि मनमा कुराखेलाउँदै थियो क्यार ! अचानक कुनै निर्णयमा पुगेझैं टेबुलमा रहेकोे मेरो दायाँ हातको हत्केला उसले उठाएर आफ्ना दुबै हातको बीचमा राखेर सुमसुम्याउन थाल्यो । प्रथम पटकको पुरुष स्पर्शले मेरो आङ्ग ढक्क फुल्यो । शरीरभरी काउकुती लाग्न थाल्यो । मैले आफ्ना झिल जस्ता ठूलाठूला आँखाले कुनै प्रतिवाद नगरीकन उसलाई हेरिरहेँ । मेरो आखामा उसप्रति मायाको सागर तैरिदै थियो । मेरो आखामा उब्जेको भाव पढ्न ऊ सफल भएझैं लाग्यो मलाई । अनायास लाजलागेर आयो । मेरा आँखा घोप्टिएर लाज दर्शाउन बाध्य भए ।
आफ्नो हात सुमसुम्याउने उसको त्यो धृष्टताको विरोध जनाउन मेरो शरीरले सकिरहेको थिएन । सायद आनन्द अनुभूत गरेका कारणले होला । यसलाई दुवैको माया गर्ने सिकारु अवस्था भन्नु पर्ला ! उसको क्रियाकलापको मेरो मष्तिष्कले विरोध गर्दागर्दै पनि मेरो शरीरले चै उसको व्यवहारलाई स्वीकारी रहेको थियो । दमित चाह परिपूर्तिको पूर्व संकेतको आभासद्वारा मान्छे उल्लासको तालमा डुब्दो रहेछ । ममा यो सत्यता लागू हुँदै थियोे । उसको हातको सुमसुम्याईबाट मलाई मायाको प्रतिबद्धता बर्षिरहे झै लागिरहेको थियो । पूरूष स्पर्शको सुखानुभूतिले म आफ्ना परेला एक आपसमा जोडदै फुसफुसाएँ । मदहोसिमा मेरो स्वर बिस्तारै मिहिन हुँदै थियो ।
“सुबोध !”
“हुँ.... भनन ।” उसको मिहिन स्वर आफ्नोभन्दा झन् मदहोस झै लाग्यो । हामी दुईको मायाले लट्टिएको कानेखुसी पूर्ण स्वर केवल एकापसले मात्र सुनिरहेका थियौँ ।
“तिमी मेरो हातलाई कहिल्यै छोडदैनौँ ?” अनायास करिब करिब समर्पणको मुन्द्रमा मैले आफ्नो चाँहना उसलाई पोखेँ ।
“छोड्दिन...! ममाथि विश्वास र भरोसा राख ......।” यति भन्दै उसले मेरो हातलाई आफ्ना दुबै हातले जोडले दबायो । उसको मजबुत पकड र भरोसा युक्त स्वरले म भित्रभित्रै हर्षले, रमाएँ...
– अच्युतमान सिंह प्रधान ‘उत्सुक’
उसँग केवल बस्न एउटा सानो घर र थोरै पाखो बारी मात्र थियो । जसबाट जेनतेन एक छाक खान मात्र पुग्थ्यो । गरिबीको कारण अनि आफ्नो बिहे गर्दा साहुसँग लिएको ऋण तिर्न आफ्नो छोरा विदेश जान बाध्य भएको थियो । हुन पनि हो आफ्नो गाउँ, आफ्नो बृद्ध बाबु–आमा, नवविवाहित पत्नीलाई छोडि जान कसलाई रहर हुन्छ र ? बिहे भएको साल नै नवविवाहित पत्नीसँग धित मरुन्जेल बस्नसमेत नपाई रोजगारीको लागि छोरा खाडि मुलुकमा गएको थियो ।
हुनत छोराले अहिले बिहे गर्दिन । केही समय विदेशमा गएर केही कमाएर फर्के पछि मात्र बिहे गर्छु भनेर आफ्नो बाबु–आमासँग कति जोड गरेको थियो । तर बाबु आमाको ढिपीसँग छोराको केही लागेन । “दुवै वृद्ध वृद्धा भईसके, विदेश जानु परे पनि बुहारी भित्राएर मात्र जा । त गए पछि हामीलाई कस्ले स्याहार सुसार गर्छन् ? कमसे कम बिहे गरे पछि त हाम्रो सहारा कोही हुन्छ । हामीलाई पनि नाती खेलाउने रहर छ नि !” यस्तै बाबु आमाको गनगनको अगाडि बिचरा छोराको केही लागेन । आफ्नो बाबु आमाको मन राख्न भनेर पनि छोराले बिहे गरे । आज हामीले गर्दा छोराले यस संसारबाट बिदा लिनु पर्यो, बुहारी पनि विधवा भईन्, नाती पनि टुहुरो भयो ।
छोरा गएको पनि पाच बर्ष मात्र पुरा भएको थियो । यसबिच छोरासँग केवल एक पटक मात्र भेट भएको थियो । त्यो पनि नाति जन्मेको साल एक महिनाको लागि मात्र छोरा बिदामा घर आएको बखत । छोराले विदेशबाट दुःख गरेर कमाएर पठाएको पैसाले साहुको ऋण समय मै चुक्ता गरि केही रकम पछिको लागि जोगाएर राखेको पनि थियो ।
एक महिना अघि मात्र छोराले खुशी भई फोनमा अब सधैँको लागि स्वदेश फर्कने, अनि गाउँ मै आफ्नै परिवारसँग बसेर केही व्यवसाय गर्ने कुरो भनेको थियो । यो कुरो सुनेर सबै कति खुशी भएको थियो । बुहारीले पनि “अब हाम्रो पनि सुखको दिन आउने भयो, हामी सबै सँगै बस्न पाउने भयो” भनि कति खुशी व्यक्त गरेकी थिइन । सानो नाती पनि “अब बाबा आउने भयो” भनेर तोती बोली बोलेर कति खुशी भई उफ्री उफ्री नाचेको थियो । विदेश गएको सद्धै छोरा आज लाश भएर स्वदेश आयो । हे दैब यो के अनर्थ भयो ? हाम्रो बुढेसकालको सहारा निर्दय दैबले चुडाएर लग्यो । बरु हामी दुईलाई लगेको भए हुन्थ्यो नि । यो के उल्टो भयो ? भनि दुई वृद्ध वृद्धा काठमाडौंस्थित अन्तराष्ट्रिय बिमानस्थल बाहिर विदेशबाट आएको छोराको लाश भएको काठको बाकसलाई च्यापेर बिलौना गरिरहेको थियो । साथमा एउटी युवती दुधे बालकलाई च्यापेर सुक्क सुक्क रोइरहेकी थिइन । त्यस्तै दुधे बालक पनि चिच्याएर रोइरहेको थियो । आफ्नो आफन्तलाई लिन आएका तथा विदेश जान पु¥याउन आएकाहरुको भिडले उनीहरुलाई घेरिएको थियो । सबै केवल मुकदर्शक बनेर उनिहरुले बिलौना गरेको सुनिरहेको अनि हेरिरहेको थियो । तर, कसैले पनि उनीहरुलाई सम्झाउन सकि रहेको थिएन । यस्तो ह्रदयबिदारक दृश्य देखेर भिडमा दुःखी नभएको अनि आँखा नरसाएको पनि कसैको थिएन ।
यो भिडमा कतिका सन्तान रोजगारीको लागि विदेश जानको लागि पु¥याउन आएकाहरु तथा बिदावारी दिन आएका थिए होलान् ? अनि ति अभिभाबकहरुको मनस्थिती कस्तो भए होलान् ?
यो सबै हामी जस्तो गरीब देशका जनताहरुको लागि, हाम्रो जस्तो गरीब देशको लागि बिडम्बना पनि हो । यस्तो धटना दोहरिन नदिनको लागि स्वदेश मै रोजगारी सिर्जना गरि युवावर्गलाई विदेशीनुबाट रोक्न सक्नु पर्दछ । नत्र यस्तो घटन सधैँ दोहोरी नै रहन्छ । यसबारे सत्ता अनि कुर्सीमा बसेकाहरुको ध्यान जाने हो कहिले ?
– सरस्वती पौडेल, चितवन
आकाशका जुन, तारा अनि त्यो बादल हेरेर
फेदमै निदायो बच्चो रुखको काफल हेरेर ।
म चुँडेझको चप्पल लाएरै घरसम्म आइपुगेँ
शहर भरि अरुले लगाएको चप्पल हेरेर ।।
यो जिन्दगीले नै भाँडाकुटी खेलाइराको बेला
छोरछोरी रोइदिन्छन् खेलौनाको पसल हेरेर ।
छोरो परदेशियो, फर्केन अझै घरमा खोइ,
आमा रुँदै छिन् ढोकामा राखेको जल हेरेर ।।
अदालतले बिना सबुत पारपाचुके थमायो,
छोरालाई बाउ दिलाउ यसको सक्कल हेरेर ।
मायाले हो सम्बन्ध र जिम्मेवारी स्थायी हुने
घर नजलाउनु अरु कसैको ताज महल हेरेर ।।
– रमेशचन्द्र घिमिरे, लमजुङ
१.
राति–राति जर्किन बोकेर हिँड्ने दिन आए ।
जाबो हाम्रो भोट पनि किन्ने दिन आए ।
चुनाव नजिकिँदै गर्दा यति खुसी लागेको छ कि
हिजो नचिन्ने नेताले फेरि आज चिन्ने दिन आए ।।
२.
पहरेदार नै मस्त सुतेपछि के अर्थ रह्यो र ?
सुरक्षा दिनेले नै लुटेपछि के अर्थ रह्यो र ?
बोल्नका लागि ञआँझ गरेर के मुख खोलेको थिएँ
विडम्बना, जिब्रो नै थुतेपछि के अर्थ रह्यो र ?
३.
यो सम्बन्ध अरूले देख्न हुन्न दुनियाँलाई रिस हुन्छ
जति छ लिनुस् कि तीस हुन्छ कि चालिस हुन्छ
टेबुलमाथिबाट दिँदा पो घुस दिएको हुन्छ हजुर !
टेबुलमुनिबाट दिन जान्यो भने त्यो बक्सिस हुन्छ ।
४.
प्रपोज डे भन्दैमा माया पाइन्छ र ?
रोज डे कुरेर पनि पिरती लाइन्छ र ?
भ्यालेन्टाइन डे भनेर चेपारो घस्नुपर्दैन भो
माया गर्न कहिल्यै तिथिमिति चाहिन्छ र ?
५.
आफूसँग अमृत राखेर अरूमाथि विषका पोका छरियो
विपक्षीको यात्रामा भाँजो हाल्ने थुप्रै प्रयास गरियो
केही गरे पनि उपाय चल्न सकेन हजुर
आखिर अर्कालाई खनेको खाल्टोमा आफै परियो ।।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies